‘विप्लव’ नेकपाद्वारा ४४ बिघा जमिन कब्जा

कैलाली, साउन १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको बौनियामा चार जनाको घरजग्गा कब्जा गरेको छ । सो पार्टीको जनपरिषद् नेपाल बर्दगोरियाले ४३ बिघा १७ कट्ठा जमिन र घरमा झन्डा गाडेको हो ।

 

कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँगिएको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ ।

 

राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिन र घर कब्जा गरिएको हो । त्यस्तै, देवबहादुर मल्लको ८ बिघा जमिन र घर, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन पनि जनपरिषद्ले कब्जा गरेको बताइएको छ ।

 

उक्त जग्गा सशस्त्र युद्धका बेला तत्कालीन नेकपा माओवादीले कब्जा गरेको थियो । युद्ध समाप्तिको घोषणापछि पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीका नेताले उक्त जग्गाको दलाली गरेको पनि विप्लव समूहको दाबी छ ।

 

विप्लव समूहले कब्जा गरेको उक्त जग्गामा टाँगिएको ब्यानरमा सशस्त्र युद्धका क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद्ले कब्जा गरेको उल्लेख छ । ब्यानरमा जग्गा बिक्री वितरणमा संलग्नलाई पार्टीले भौतिक कारबाही गर्ने चेतावनीपूर्ण सूचना राखिएको छ ।