दिल्ली लगेर १५ दिनसम्म बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

धनुषा,साउन २२। आमाको सहयोगमा १२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप लागेका सियाराम महतो पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोल बन्द्रका ४० वर्षका महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

घटनापश्चात बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यस्तै बालिकाको आमा पनि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको र उनीसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीको भनाइ छ ।

 

बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गएको असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

यसरी भएको थियो घटना

महतोले बालिकालाई उनकै आमाको सहयोगमा गएको जेठ २७ गते दिल्ली पुर्याएका थिए । मजदुरको काम गर्दागर्दै बालिकाकी आमाको सियारामसँग हिमचिम बढेको स्थानीयको आरोप छ । त्यसपछि ती बालिकाकी आमाले छोरीलाई बाहिर सरसफाइको काम गर्न जाने भन्दै ढाँटेर सियारामसँगै दिल्ली लगेकी थिइन् । दिल्लीको एउटा कोठामा महतोले आमाकै सहयोगमा बन्धक बनाइ १५ दिनसम्म चरम यौन शोषण गरेको बालिकाले बताएकी छिन् ।

 

त्यसअघि बालिकाकी ठूलीआमा (मौसी)ले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहिनी र छोरीलाई सियारामले दिल्ली लगेको भन्दै सियाराम र उनका बुबा रामाशीश महतोमाथि निवेदन दिएकी थिइन् । त्यसपछि असार १६ गते साँझ सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर प्रहरीमा निवेदन दिएका कारण सियाराम र बालिकाकी आमा फेरि फरार भएका थिए ।

 

चमार समुदायकी ती बालिकाका बुवा एक वर्षदेखि बेपत्ता छन् । बाँया खुट्टामा समस्या भएका बुवा होटेलमा काम गर्दै घरपरिवारको खर्चको जोहो गर्ने गरेका थिए । तर पछि मानसिक सन्तुलन गुमेर बुवा बेपत्ता भएपछि आमाले समेत खोजखबर नगरी छिमेक सियारामसँगै मजदुरी गर्दा गर्दै उनैसँग हिमचिम बढाएको स्थानीयको आरोप छ ।

 

बालिकाका दुई दिदीबहिनी र एक भाइ छन् । भाइ १० वर्ष र कान्छी बहिनी ८ वर्षकी छन् । कान्छो भाइ र बालिका ठूलीआमाको शरणमा छन् । बुवा बेपत्ता र आमा यो घटना गराएर फरार भएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

आमाको बयान यस्तो छ

प्रहरीमा हाजिरी भएकी आमाले उज्यालो अनलाइनसँग कुरा गर्दै छोरीलाई सँगै लिएर सरसफाइको काम गर्न भारतको हिमाञ्चल गएको बताइन् । एउटा पानी फ्याक्ट्रीमा आमाछोरी सँगै काम गरेको उनले बताइन् ।

 

सियाराम पनि सँगै गएर अर्को ठाउँमा काम गरेको उनको भनाइ छ । तर सुत्न भने एउटै कोठामा तीनै जना सुतेको उनले स्वीकार गरिन् । तर छोरीमाथि बलात्कार भने नभएको आमाको दाबी छ ।

 

ऋण भार खेप्न नसकेर बढी पैसा कमाउन छोरीलाई लिएर काम गर्न गएको तर ठूली दिदीले फोन गर्दा घर फर्केको उनी बताउँछिन् । यहाँ आएपछि आफ्नी छोरीलाई केही स्थानीय र ठूली दिदीले उचालेर आफूहरुविरुद्ध लगाएको आमाको तर्क छ । आफ्नो ठूलीदिदीले आफ्नो ऐलानी जग्गामा रहेको घर समेत बेचिदिएको उनले सुनाइन् ।