त्रिभुवन विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को खबरदारी 

 काठमाडाै,साउन २९।नेकपा (क्रान्तिकारी  माओवादी)  मोहन बैद्ध्य (किरण) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि भुइमै बसेर खबरदारी गरेका छन। देशकै सबैभन्दा ठूलो विश्वविद्यालयमा हुने राजनितीकरणको भण्डाफोर गर्नका लागि यो खबरदारी गरिएको उनिहरुको भनाई छ।
 
 
 
देशका ठुलाठुला जनशक्ति उत्पादन गर्ने ठाउँ अहिले आफ्ना मान्छेहरु भर्ती गर्ने भर्ती केन्द्रका रुपमा स्थापित भएकोले यस्तो बेथितिलाई रोक्नका लागि तत्काल कडा कदम चाल्नुपर्ने उनिहरुले बताएका छन। आउदो भदौ ५ गतेदेखी देशका सबै विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिदै गर्दा अहिलेसम्म भएका राजनीतिक प्रभावले विश्वविद्यालयको साख गिरेकोले यस्ता नातावाद र कृपावादको भण्डाफोर गर्ने उनिहरुले सरकारलाई चुनौती दिएका छन।
 
 
 
अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले अब विश्वविद्यालयमा यस्तै बेथिति हुँदै गए आफुहरु बन्दुक सरह पड्किने बताउनुभएको छ। जुन पार्टी सरकारमा हुन्छ तिनैका मान्छे भर्ती गर्ने थलोको रुपमा विश्वविद्यालयलाई प्रयोग गरिएकाले अब अखिल क्रान्तिकारी डाइनामाईट भएर पड्किन तयार भएको पनि उहाले सरकारलाई चेतावनी दिनुभयो। 
 
 
 
हिजो त्रिवि सेवा आयोगको बेथितिलाई लिएर आफुहरुले सुरु गरेको २९ दिने रिले अनशनले चैतन्य शर्मा लगायतका ब्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको मुद्दाको दायरामा ल्याउन सफल भएकोले अझै सशक्त भएर लाग्ने उहाले बताउनुभयो। यदि राजनीतिकरण बन्द नगरिए आफुहरुले बाकी संघर्षका कदम चाल्ने उनिहरुले बताएका छन।  विश्वविद्यालयमा हुने दलिय भागबण्डा अन्त्य गर, स्वस्थ प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर भन्दै उनिहरुले यो खबरदारी गरेका थिए।