राष्ट्र बैंकले दशैँका लागि १३ अर्बका नयाँ नोट बजारमा ल्याउदै,सवर्साधारणले साट्न कति दिन अगाडी पाउने,यस्तो छ तयारी

काठमाडौं,भदाै ११। दशैँ र तिहारकाे लागि नयाँ नोट बजारमा ल्याउने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । विगतमा जस्तै यो वर्ष पनि बैंकले आमजनताका लागि नयाँ नोट सटहीका लागि छिटै तयारी गरेको जानकारी दिएको छ ।

 

यो वर्ष बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि बजारमा ल्याउने भएको छ । बैंकले १८ हजार ५ सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने तयारी गरेको बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । कुन–कुन स्थानबाट नयाँ नोट सटही हुने भन्ने विषयमा बैंकले छलफल गरिरहेको उनको भनाइ छ ।

 

राष्ट्र बैंकले गत वर्षदेखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको थियो । नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फाल्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसअघि दशैँ र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।