नेपाली भाषी एक लाखले भारतीय नागरिकता पाउनबाट बञ्चित

एजेन्सी। भारतीय पूर्वोत्तर राज्य आसामको राष्ट्रिय नागरिकता दर्ता (एनआरसी)को अन्तिम सूची प्रकाशित हुँदा एक लाखभन्दा बढी नेपाली भाषी भारतीयलाई सूचीबाट हटाइएको छ । भारतीय अंग्रेजी अखबार ‘द हिन्दू’ले एक लाखभन्दा बढी नेपाली भाषीलाई आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाइएको उल्लेख गरेको छ।

 

भारतीय गोर्खा परिसंघ अध्यक्ष नित्यानन्द उपाध्यायले राज्यभरका स्थानीय संगठनका स्थानीय एकाइसँग कुरा गर्दा यो संख्या थाहा भएको हिन्दूले उल्लेख गरेको छ । पूरा डेटा आउनलाई केही दिन पर्खिरहेको सूचीबाट हटाइएका आधिकारिक भारतीय गोर्खा नागरिकको संख्या एक लाखभन्दा बढी भएको आकलन गरिएको उपाध्यायले बताएका छन् ।

 

भारतीय गोर्खा परिसंघका नेता नन्दा किराती देवानले सूची पुनरवलोकन गर्ने प्रक्रियाको अन्तिम समयसम्म गोर्खा समुदायले धैर्य गर्ने बताए । उनका अनुसार १ लाख गोर्खाली अस्वीकृत भएका, २० हजार जतिलाई संन्दिग्ध मतदाताको आरोप लागेको र अन्य केहीको थर र कागजात नमिलेको भनी समस्यामा रहेका छन्।

 

एनआरसी सूचीमा कुल ३ करोड ११ लाख मानिस परेपनि १९ लाख राज्यविहीन भएका छन् । सूचीमा नाम नभएकाहरूले १ सय २० दिनभित्र अपिल गर्न पाउने प्रावधान राखिएको छ । सूचीमा नअटाएका मानिसलाई तत्काल देश निकालाको सम्भावना नरहेको बताइएको छ ।डिसीनेपाल बाट