काठमाडौंको मूलपानीस्थित ग्रीनहिल सिटी हाउजिङले बनाएको दुईतले घर यसरी भत्कियो

काठमाडौं,भदौ १८ । गएराति ग्रीनहिल सिटी हाउजिङको दुईतले घर भत्किएको छ । केही दिनदेखिको लगातार वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर भत्किएको हो । जानकारी अनुसार राति दुई बजेको समयमा सो घर भत्किएको हो । यसरी मध्यरातमा घर भत्किँदा मानवीय क्षति भने भएको छैन ।

 

सोही क्षेत्रमा गत असार २६ गतेको अविरल वर्षाका कारण पर्खाल भत्किएर टहरो पुरिदा तीनको ज्यान गएको थियो । ग्रीनहिल सिटी हाउजिङले मूलपानी क्षेत्रमा अहिलेसम्म एक सय पचास घर निर्माण गरेर बिक्री समेत गरिसकेको छ । त्यस्तै अझैँ आठ सय घर निर्माण गर्ने जनाइएको छ ।

 

हाउजिङले संरचना कमजोर भएर घर भत्कियो या माटो नै कमजोर हो भन्ने विषयमा अध्ययन भइरहेको जानकारी गराएको छ । हाउजिङका एक कर्मचारीले आफूहरुले यस विषयमा अध्ययन गरिरहेको बताए । मूलपानीका अन्य स्थानमा पनि गए राति स–साना पहिरो जानुका साथै घरभित्र पानी पसेको कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले जानकारी गराएका छन् ।न्युज24नेपाल बाट