क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न

कैलाली भाद्र २१।नेकपा क्रान्तिकारी माओवादी पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदुर पश्चिमप्रदेश कमिटीको बैठक राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल शनिवार कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

 

होटल आहा रामारोशनमा सम्पन्न बैठकले ९ वटा जिल्लामा मध्ये तीन जिल्लाको जिल्ला भेला एंव अन्य छ जिल्लामा सम्पर्क कमिटी गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा प्रदेश संयोजक धनञ्जय अवस्थीले जानकारी दिनुभयो ।

बैठकले कैलाली कञ्चनपुर र डडेल्धुराको जिल्ला भेला तत्काल सम्पन्न गर्ने र बैतडी सहितका जिल्लामा सम्पर्क कमिटी गठन गर्ने निर्णय गरेको प्रदेश कमिटी सदस्य भुवन भट्टले बताउनुभयो ।

त्यस्तै बैठकले कैलालीबाट नारायण चौधरी डडेल्धुराबाट दिपकराज भट्टलाई प्रदेश कमिटीमा थप गरेको छ ।महासंघको बैठकले मिडिया काउन्सिल बिद्येयकमा नेपाल पत्रकार महासंघले धोका दिएको ठहर गर्दै प्रेस तथा स्वतन्त्रता बिरोधी कानुनका बिरुद्ध संर्घष गर्ने निर्णय समेत गरेको छ ।

 

बैठकले सरकार तथा सबै संचारमाध्यमलाई श्रमजिवी पत्रकार ऐन कार्यान्वयन र साना लगानीबाट श्रमजिवी पत्रकारद्धारा संचालित स्वरोजगारमुखी मिडियाको प्रबद्र्धनका लागि दवाव सिर्जना गर्ने निर्णय गरेको बताइएको छ ।

 

त्यस्तै क्रान्तिकारीले नेपाल पत्रकार महासंघलाई साझा बनाउनका लागि अनुरोध गर्नुका साथै प्रदेशस्तरीय अन्तरक्रिया गर्ने निर्णय लिएको छ ।बैठकमा प्रशिक्षण दिदै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेयले कुनै पनि निकायको हनुमानकारिता गर्दै पत्रकारले समाचार लेख्न नहुनेमा जोड दिनुभयो ।

 

उहाँले जनपक्षीय पत्रकारले राष्ट्रियता र जनताको पक्षमा कलम चलाउनुपर्ने उल्लेख गर्नुभएको थियो । देशमा ब्याप्त बिकृति बिसंतिका बिरुद्ध तपाई हाम्रा कलम चल्नुपर्छ – सो अवसरमा कोषाध्यक्ष पाण्डेयले भन्नुभयो–निर्भिक भएर कलम चलाउनुस ।

त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सुदुर पश्चिम प्रदेशका ईञ्चार्ज एंव सेक्रेटरी अनुकुलले क्रान्तिकारी पत्रकारले आफ्नो पहल बृद्धि गर्दै राष्ट्रियता जनतन्त्र जनजिविका र उत्पिडित जनताको पक्षमा आवाज बुलन्द बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

पत्रकारहरुलाई प्रशिक्षित गर्दै उहाँले क्रान्तिकारीहरुका बिरुद्ध हुने कुनै पनि हर्कतको जनपक्षीय पत्रकारले चिरफार गर्नुपर्ने बताउनुभयो ।
बैठक प्रदेश संयोजक धनञ्जय अवस्थीको अध्यक्षता र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेको प्रमुख आतिथ्यता तथा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सुदुर पश्चिम प्रदेशका ईञ्चार्ज एंव सेक्रेटरी अनुकुलको बिशिष्ट आतिथ्यता अखिल क्रान्तिकारीका केन्द्रीय सचिव राम महराको आतिथ्यतामा भएको थियो ।