सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

ललितपुर, भदौ २५  । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको छ ।

 

ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडाले सिक्का सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा मन्त्री डा.खतिवडाले भन्नुभयो, “सय वर्ष पुगेपछि सम्पदाको रुपमा लिइन्छ, त्यसैले सत्यमोहन जिवित सम्पदा हुन् । जिवित इतिहास हुन् ।

 

” मन्त्री डा.खतिवडाले राष्ट्र बैंकको नोट तथा सिक्का निस्कासनमा संस्कृतिविद् जोशीले लामो समयसम्म योगदान पुर्याउनुभएको चर्चा गर्दै त्यसको सम्मान स्वरुप पनि सिक्का निस्कासन भएको बताउनुभयो । कार्यक्रममा सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सिक्का निस्कासन र सत्यमोहन जोशीको योगदान बारे चर्चा गर्नुभएको थियो ।

 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार, जोशीको तस्वीर अंकित सिक्का दुई हजार पाँच सय र एक हजार दरको २५ हजार थान र एक सय रुपियाँ दरको १० हजार थान निस्कासन भएको जानकारी दिनुभयो । नेपालको सिक्का निस्कासनको इतिहासमा प्रायः राजाको तस्वीर अंकित वा वन्यजन्तु, सांस्कृतिक तथा प्राकृतिक सम्पदा या विशेष दिवसको स्मरणका रुपमा सिक्का निस्कासन हुने गरेको छ ।

 

सिक्का निस्कासनको शृङ्खलामा आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमानपछि तेस्रो व्यक्तिका रुपमा जोशीको सिक्का निस्कासन भएको हो । यसअघि, शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित २० ग्राम चाँदीको सिक्का न्हुज गुठीले समेत सार्वजनिक गरेको थियो । यस्तै, राष्ट्र बैंकले २०७२ सालमा सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताव्दीको अवसर दुई हजार रुपैयाँको चाँदीको सिक्का निस्कासन गरेको थियो ।

 

सिक्काको एकापट्टी गणेशमान सिंहको तस्वीर अंकित र अर्कोतिर सगरमाथाको तस्वीर रहेको थियो । राष्ट्र बैंकले २०४१ सालदेखि नियमित सिक्कासँगै स्मरण सिक्का निस्कासन थालेको हो । महालेखा परीक्षक रजत जयन्ती २०४१ मा २५ रुपियाँ दरको सिल्भर को सिक्का प्रकाशन गरी स्मराण् सिक्का निस्कासन थालेको हो ।गाेरखापत्रदैनिकमा खबर छ।