हाम्रो अथक प्रयासले प्रचण्ड बचाएका थियौ : मिमसरा शाहि

महिलाले राजनिती गर्दा पुरुष भन्दा दोब्बर संघर्ष गर्नुपर्छ

बाल्यकालमा क्रान्तिकारी स्वभावकि मिमसरा शाही १६ वर्षको उमेरमै जनयुद्धमा सामेल भइन । कालिकोटको एउटा दुर्गम गाउमा जन्मेर मिमसरा जनयुद्धमा जनमुक्ति सेनाको भुमिकामा दर्जनौं लडाइमा प्रत्यक्ष सहभागी भइन । थुप्रो आरोह-अवरोह झेलेकी मिमसराका केही अनुभव, अनुभुती र पीडा बुझ्न हाम्रा सहकर्मी कमल कोपिलाले गरेको कुराकानीको सारसङ्क्षेप :

 

कहिलेदेखी राजनितिमा प्रवेश गर्नुभयो ?

म सोर्ह वर्षको थिए देशमा तत्कालिन माओवादी जनयुद्द सुरु भयो त्यही बेला भुमिगत भएर जनयुद्धमा प्रवेश गरेको थिए । २०५८ साल वैशाख १९ गतेका दिन औपचारिक रुपमा यस क्षेत्रमा लागेको थिए ।

 

के कारणले भुमिगत हुनुभएको थियो ?

म धेरै चाह राखेर धेरै बुझेर त्यतिबेला लागेको थिईन तर मलाई केही कुराले सार्है प्रभाव पारेको थियो। जतिबेला देशको बागडोर गलत नियतले चलिरहेको थियो। देशमा विविध विभेदहरु ब्याप्त थिए । ब्यवस्था गलत थियो। जसका विरुद्ध नै तत्कालिन माओवादी जनयुद्ध जन्मिएको थियो । उक्त माओवादी जनयुद्धको एकखाले छुट्टै सन्देश थियो। जहाँ धनी गरिब बराबर हुन्छन र सर्वाहारा शैलि अपनाईन्छ । साम्यवाद ब्यवस्थाको सुरुवात हुन्छ विभेद अन्त्य हुन्छ । महिला अधिकार पनि आउछ । सर्वाहारा वर्गको हितको निम्ती लड्नुपर्छ भन्ने खालको सकारात्मक सन्देशहरुले मलाई ज्यादै छोएका थिए तसर्थ नै म भुमिगत भएको थिए ।

 

त्यो बेलाको सामाजिक परिवेशमा भुमिगत हुँदै गर्दा घरबाट सहमती गरेर जनयुद्दमा लाग्नुभएको हो अर्थात भागेर लाग्नुभएको थियो ?

घरको कान्छी छोरी हु म । घरबाट स-प्रेम पाएको थिए। मलाई कुनै कुराको अभाव थिएन । माओवादी जनयुद्धको सन्देशको प्रभावले देश र जनताको लागि लड्नुपर्छ भन्ने मनमा भाव जागिसकेपछी उतिबेलाका माओवादी साथिहरुलाई म पनि अब जनयुद्धमा सामेल हुन्छु भन्ने कुराको वचन दिए। उक्त कुरा कसरी-कसरी घरमा आमाले थाहा पाउनुभएछ। आमालाई त्यो कुराले निकै चिन्तित बनाएको थियो। रात पर्दा डराउने मेरि छोरी यसरी भाग्न लागेकी छे अब मेरो छोरी बाच्छ कि बाच्दैन भनेर-कति बेला भाग्छ धेरै दिनसम्म आमाले मलाई पछ्याईरहनुभयो। म सुत्दा पनि संगै बाहिर निस्किदा पनि संगै निस्किने क्रम आमा र मेरो चलिरह्यो। आमा खुब रुनु पनि हुन्थ्यो। नजा छोरी भनेर सम्झाउनुहुन्थ्यो। उता माओवादीबाट पनि मलाई ठूलो दबाव आयो र मलाई यता आमाको घेरा तोड्न पनि बहुत सकस थियो। अन्तत: आमाको धेरै दिनको पछ्याट पछि एकदिन प्रौढ पढ्न भनेर अनौपचारिक प्रौढ शिक्षाको किताब समाएर भागेको थिए ।

तपाईं जुन उद्देश्यले, सपनाले,सोचले अर्थात प्रभावले घरबाट भुमिगत हुनुभएको थियो त्यो परिवर्तन अहिले समाजमा छ त ?

हामिले सोचे अनुसारको शतप्रतिशत परिवर्तन भएन तर केही प्रतिशत भने परिवर्तन भएकै हो । र हामिले परिवर्तन शतप्रतिशत नै चाहेका थियौ। हामिले चाहेकै एउटा कुराको परिवर्तन हुन नसकेको साम्यवाद ब्यवस्था हो जो हाम्रो समाजमा अहिले चाहेर पनि ल्याउन सकिँदैन ।

 

जनयुद्धमा सामेल हुनेक्रममा धेरै दुख पाएर घरबाट आमाले त “नजा भन्नुहुन्थ्यो, नआएको भए हुन्थ्यो” भन्ने कुराको पश्चताप भयो कि भएन ?

भुमिगत भएपछी एक महिनापछि पहिलोपटक म घर फर्किए। घर फर्किदा आमा हरेक तवरले पुर्णरुपमा परिवर्तन भैसक्नुभएको थियो। त्यसपछि मैले आमालाई केही सम्झाउन, बुझाउन पनि परेको थिएन। त्यसपछि आमाले नै भन्नुभएको थियो जो कुरा मलाई अझै पनि याद आउँछ-“मेरो छोरीले बरु गोलि खाएर मर्छे तर अब घर फर्किन्न र नराम्रो काम पनि गर्दिन” भनेर भन्नू भएको थियो। त्यसप्छी त मलाई झन थप उर्जा मिलेको थियो। तसर्थ मलाई कहिल्यै त्यो कुराको पछुतो भएन।

 

तर जिवनमा धेरै संघर्ष गरियो। खप्नै नसकिने पीडा, कस्टमय जिवनको केही समय पनि बिताईयो। दुखलाई भुलेर पनि देशका लागि लडियो। मैले पनि देशको सपना बोकेको थिए। आमाको आँसु बगाएर युद्दमा होमिएको थिए। किनकी मैले कि त आमाको आँसु बगाउन हुदैनथ्यो। युद्दमा आईसकेपछी राम्रो काम गर्नुपर्छ। देश र जनताको लागि लड्नु भन्ने कुराको बिचार आईरहन्थ्यो। ब्यक्तिगत रुपमा पारिवारिक पीडा पनि मैले भोग्न परेको थियो। त्यही बखतमा मैले आमा गुमाउनुपरेको थियो।

 

द्वन्द्वकालको समयमा तपाईं भोको बस्नुभयो कि भएन ?

कार्यकर्ता भन्दा हामिले भोको बस्न पर्दैनथ्यो । म घरबाट भाग्दै गर्दाको समयपछि एकहप्ता मात्र मैले माओवादी कार्यकर्ताको भुमिका निभाएको थिए नत्र त बाकी समय पुरै बन्दुकसंग बिताएको थिए। चौबिसै घण्टा बन्दुकसंग संगत हुन्थ्यो। घरभेटमा आउदा पनि सिरानिमा बन्दुक राखेर सुतिन्थ्यो। त्यसकारण हामी फौज फर्मेशनमा हुनेले आफुलाई चाहिने सबै कुराको अभाव हुन दिनुहुदैनथ्यो। सबै कउराको परिपुर्ती अनिवार्य गर्न पर्थ्यो खानेकुरा बोकेरै हिड्नपर्थ्यो। र पनि एकपटक बहत्तर घण्टासम्म भोको बस्न पनि परेको थियो। जुन क्षण अहिलेपनि स्मरण गर्न सकिन्छ। जतिबेला ढाडमा टेकेर टाउकोमा हान्ने पार्टिको अवधारणा आएको थियो त्यतिबेला हामी गण्डक क्षेत्रमा थियौ। त्यो बेला अहिलेका नेकपा पार्टि अध्यक्ष क.प्रचण्ड पनि हामिसंगै हुनुहुन्न्थ्यो। जहाँ माओवादिका देशैभरिका सातै डिभिजन पनि र दक्ष लडाकुको फोर्स पनि गण्डकमै थियो। र त्यही समयमा अपसोच हामी सबै तत्कालिन शाही नेपाली सेनाको घेरामा पर्यौ। त्यसरी छैठौ र सातौ डिभिजन पनि उक्त घेरामा परिसकेपछी हामिले उम्किन ठूलो संघर्ष गर्न पर्यो। बहत्तर घण्टासम्म पानी पनि नखाएर हामिले संघर्ष गर्यौ। बहत्तर घण्टाको लडाईपछी घेराबाट हामी त छदै थियौ अहिलेका वर्तमान नेकपा पार्टी अध्यक्ष क. प्रचण्डलाई पनि अथक प्रयास गरेर बचाएका थियौ। त्यसपछी मात्र हामिले खाना खाएका थियौ। र हामिले ठूलो युद्द जितेको पनि महशुस गरेका थियौ।

 

त्यो घेरा तोड्दै गर्दा अर्थात अहिलेका नेकपा पार्टि अध्यक्ष क.प्रचण्डलाईसमेत बचाएर युद्द जित्दै गर्दा तपाईको भुमिका त छदैथियो होला र पनि केही अझै विशेष भुमिका थियो ?
त्यतिबेला म गण्डक क्षेत्रमा हुदा ६ नम्बर डिभिजनको ५ नम्बर बटालिनको सि कम्पनिको एसाल्ट पलाटन कमाण्डर थिए। तर त्यतिबेला प्रायःजसो महिलाहरुले एसाल्टमा लड्न सक्दैनन भन्ने पार्टिभित्रै पनि त्यो खालको चेतना थियो। एसाल्ट भनेको अग्रमोर्चामा लड्ने हो अग्र मोर्चामा लड्ने ग्रुपको नै कमाण्डर थिए। एसाल्ट ग्रुप कमाण्डर भनेको फस्ट जम्काभेट गर्ने ग्रुपकै लिडर थिए।

द्वन्द्वकालमा देशका कती ठाउँ पुग्नुभयो ?

जनयुद्धको क्रममा देशका धेरै ठाउँ पुग्ने अवसर पाएको थिए। यस्तो ठाउमा पनि मपुगे जो अहिले म चाहेर पनि त्यो ठाउँ पुग्न सक्दिन। एकपटक चिनबाट माओले दलाई लामालाई लखेटेर दलाई लामाको एउटा ग्रुपले चिनबाट नेपाल हुँदै भारत भाग्ने क्रममा त्यो बेलामा नेपाल र चिनको सिमानामा लुकाएका हतियार ल्याउन पनि पुगेको थिए। त्यहाँसम्म पनि पुगेको थिए।

 

अहिले त रास्कोट नगरपालिकाको उप-मेयर हुनुहुन्छ। उप-मेयर भए पश्चात केही महत्त्वपूर्ण काम गर्नुभाछ ?

मैले विजयी भैसकेपछी व्यक्तिगत रुपमा छुट्टै केही गरेको छैन र मलाई छुट्टै केही गर्नै अथुरिटी पनि हुदैन। बरु मैले चाहेको काम गाउँ सभामा नगर शभामा पास गरेर नै गर्नुपर्छ। र मैले गरेपनी ब्यक्तिगत रुपमा यो गरे है भन्न पनि चाहदिन। तर केही समाजिक समस्याका सवालमा र महिला अधिकारका सवालमा हामिले केही गर्नैपर्छ है र केही बोल्नै पर्छ है भन्ने कुराको आशयले समाजमा साघुरो सोचको समस्या धेरै छ। जो कि समाजमा छोरा जन्मिदा उत्सवको रुपमा लिईन्छ र छोरी जन्मिदा हेला गर्ने प्रचलन अझै पनि छ। यो असमानता हटाउनका लागि मैले बिशेष पहल गरेर छोरी जन्माउने आमाको पिडावोध गरेको नाताले त्यो भावलाई बुझ्दै प्रोत्साहन स्वरुप केही रकम उपलब्ध गराउने ब्यवस्था गरेको छु। अर्को कुरा नगर भरिका प्रत्येक वडाको प्रतिनिधित्व सहित एउटा वचत कोष खडा गरेका छौ। जहाँ वचत गरेर कुनै पनि विपन्न महिलालाई उपचर्को लागि अर्थात अन्य समस्याको समाधानको लागि हामिले दिने भनेर वचत कोष खडा गरेका छौ। र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि केही तालिमको व्यवस्था भएको छ जस्तो अटोचालक तालिम तीन जना महिलाई अहिले दिएका छौ।

 

हाम्रो समाजमा विभिन्न सामाजिक कुप्रथाहरु ब्याप्त छन जस्तो छाउपडी प्रथा, जातिय विभेद, छुवाछुतका सवालमा केहि काम गर्नुभाछ ?

छाउपडी प्रथा उन्मुलन गर्ने हेतुले हामिले पोहोर सालदेखी केही रकम छुट्याएर छाउपडी जनचेतना अभियान कार्यक्रम संचालन गरेका थियौ। र महिलासंग उप-प्रमुख भनेर पअनइ कार्यक्रम चलाएका थियौ। त्यसपछी प्रत्येक वडामा गएर छाउपडि प्रथाको अन्त्य नहुनुको कारण के हो त आखिर भन्ने सवाल सहित हामिले जनताको घरदैलोमा पुगेर यसको खोज अनुसन्धान सहितको चेतनामुलक कार्यक्रम गर्ने योजनामा पनि छौ।

 

स्थानिय तहको कानुन निर्माण तथा कार्यान्वयनको अवस्था अहिले कस्तो छ ?

कानुन निर्माणको कुरा गर्नुपर्दा हामिले अनिवार्य बनाउनुपर्ने कानुन नेपाल सरकारको ड्राफ्टमा अध्ययन गरेर प्रदेश र केन्द्रिय सरकारसंग नबाझिने गरि हामिले कानुन निर्माण गरिसकेका छौ। आवश्यक प्रेको खण्डमा अझ पनि हामिलाई कानुन निर्माण गर्ने अधिकार त छदैछ र कानुनको कार्यन्वयन कानुन निर्माण संगसंगै भैरहेको छ।

 

यतिमा बर्षसम्म राजनितीमा लागिरहदा महिलालाई राजनिती गर्न कत्तिको चुनौती छ अनुभव भनिदिनुस न ?

महिलाले राजनिती गर्दा पुरुष भन्दा दोब्बर संघर्ष गर्नुपर्छ। किनकी पुरुषहरुलाई आफ्नो जिम्मेवारी मात्र पूरा गरेर हिडे पुग्छ। महिलाले घरगृहस्थी पनि चलाउनुपर्ने हुन्छ। सामाजिक कुरितिमा प्रयोग गरिन्छ। गलत नियतले हेरिन्छ। यी र यस्तै कुराहरुको भण्डाफोर गरेर हामिले अगाडि बढ्नुपर्ने हुन्छ। तसर्थ महिलालाई राजनिती गर्न सार्है गार्हो पर्छ।