५० बोरा युरिया किन्दा १० बोरा डीएपी किन्नैपर्ने

 वीरगञ्ज, असोज २  । बाली लगाउने बेलामा डीएपी मलको हाहाकार भएको पर्सामा पर्याप्त मात्रामा डीएपी मल वितरण गर्न नपाएका सहकारीहरूलाई अहिले कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले ५० बोरा युरियासँगै १० बोरा डीएपी किन्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ ।

अहिले युरिया मलको माग भएको बेलामा मल कम आएको भनी प्रतिसहकारी जम्मा ५० बोरा युरिया मल दिने र त्यसमा १० बोरा डीएपी मल लिनैपर्ने बाध्यात्मक व्यवस्था कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले गरेको हो ।

किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले भन्नुभयो, अहिले युरिया मलको खाँचो छ तर कृषि सामग्री कम्पनीले आवश्यक युरिया नदिएर डीएपी किन्नैपर्ने भनेको छ । लाइनमा बसेर आवश्यकता नै नभएको डीएपी लगेर के गर्ने रु एउटा सहकारीलाई ५० बोरा मात्र युरिया मल दिइँदा त्यस क्षेत्रका किसानको मागलाई धान्न नसक्ने उहाँले बताउनुभयो ।

जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहको गुनासो पनि त्यस्तै छ । गहुँको सिजनमा पोटास आवश्यक हुन्छ, रोपाइँका बेलामा डीएपी । त्यतिबेला दुवै आएको थिएन, अहिले हामीलाई युरिया चाहिएको छ, त्यो पर्याप्त पाइरहेको छैन, आवश्यक नभएको डीएपी अनिवार्य लैजान भनिएको छ । उहाँले भन्नुभयो ।

एउटा ट्याक्टरलाई तीन हजार÷३५ सय भाडा तिरेर ५० बोरा मात्रै मल लैजानु पर्दा ढुवानी लागत बढी पर्ने गरेको गुनासो किसानको छ । एउटा ट्याक्टरमा १२० बोरादेखि १३० बोरासम्म मल लैजान सकिन्छ तर ५० बोरा युरिया र १० बोरा डीएपी गरी ६० बोरा ढुवानी गर्नुपर्दा दोब्बर ढुवानी खर्च हुने गरेको छ ।

कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले सहकारीहरूसँगको सहमतिमा ५० बोरा युरियामा १० बोरा डीएपी लग्ने भनी आपसी सहमति भएअनुसार गर्ने गरिएको बताउनुभयो । एक ¥याक मात्र युरिया मल शुक्रबार सुक्खा बन्दरगाह हुँदै कार्यालयको गोदाममा आएको र आइतबारदेखि वितरण गर्न थालिएको बताउनुभयो । उहाँले पर्सामा रहेका ९७ सहकारीलाई मल उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

सरकारी अनुदानको मल आवश्यक परेको समयमा उपलब्धै नहुने र अहिले आएर १० बोरा लानैपर्ने भएपछि सहकारीका किसान आक्रोशित भएका हुन् । ग्रामीण क्षेत्रमा प्रतिबोरा ७५० देखि ८०० रुपियाँसम्ममा बिक्री भइरहेको युरिया मल कृषि सामग्री कम्पनीको कार्यालयमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले ६७८ रुपियाँ ५० पैसामा खरिद गर्ने गरेका छन् ।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख गोविन्द पराजुलीले दुई हजार पाँच सय मेट्रिक टन मल बोकेको एक ¥याक मल आएको जसको एक हजार २५० मेट्रिक टन भैरहवा पठाउने र बाँकी वीरगञ्ज राखिएको तर नौ सय मेट्रिक टन धुलिखेल, काठमाडौँ, सर्लाहीलगायत मातहतका कार्यालयमा पठाउनु परेपछि कमी भएको बताउनुभयो ।

कार्यालय प्रमुख पराजुलीले दुई हजार पाँच सय मेट्रिक टन मल एक÷दुई दिनमा वीरगञ्ज आइपुग्ने बताउँदै किसान र कृषि सहकारीलाई एक÷दुई दिन धैर्य राख्न आग्रह गर्नुभयो ।

कृषि सामग्री कम्पनीसँग आबद्ध सहकारीको पसलमा कम्पनीको डीएपी मल पनि देखियोस् भनेर डीएपी १० बोरा लैजान भनिएको हो । कार्यालय प्रमुख पराजुलीले भन्नुभयो, अनुदानको मल हो, जबर्जस्ती कृषि सहकारीलाई दिनुपर्ने भन्ने छैन, हामीसँग आबद्ध सहकारीको पसलमा साल्ट ट्रेडिङको मात्रै डीएपी मल देखिएकाले हाम्रो पनि १० बोरा लगेर राख्न भनिएको हो । हाल कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जमा ३६३ दशमलव ५० मे। टन डीएपी, ४३ दशमलव तीन मे। टन युरिया र १६ दशमलव तीन मे। टन पोटास मौज्दात रहेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले जानकारी दिनुभयो ।गाेरखापत्रदैनिकमा खबर छ।