दुई किलो सातसय ग्राम चरेससहित डडेल्धुरामा दुईजना पक्राउ

डडेल्धुरा, असार १९ । लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका ३८ वर्षीय वीरबहादुर बोहरा रहेका छन् ।

 

लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरुप परिचालित प्रहरीद्वारा विशेष सुराकिको आधारमा शनिबार प्रहरीले लागुऔषध चरेससहित दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

दशरथचन्द्र राजमार्गस्थित अमरगढी–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा भण्डारीले चलाइराखेको बैतडीबाट डडेल्धुरा आउँदै गरेका से ३ प ४५३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भण्डारीको झोलाबाट ७०० ग्राम चरेस फेला परेको डडेल्धुराका प्रहरी नायव निरिक्षक दधिराम न्यौपानेले जानकारी दिए।

 

यस्तै अमरगढी–६ भालुमारेका बिर बहादुर बोहराको घरबाट २ किलो चरेस फेला परेको प्रहरी नायव निरिक्षक न्यौपानेले जानकारी दिए । लागुऔषध चरेश बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए।