बलात्कार प्रयास अभियोगमा महरा निवासबाटै पक्राउ

काठमाडौं,असाेज १९। आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश दिए लगत्तै उनी पक्राउ परेका हुन् ।

 

आफ्नो निजी गाडिमा हिरासतमा जाने की प्रहरीको गाडिमा जाने भन्ने लामो छलफल पछि महरा निजी गाडिमै प्रहरी हिरासतमा गएका छन् । केहीबेर अगाडि निजी गाडिमा प्रहरी हिरासतमा जाने गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  महरालाई प्रहरीले ६ बजेर १२ मिनेट जाँदा सरकारी निवासको गेट बाहिर नियन्त्रणमा लिएर निकालेको थियो ।

 

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

 

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो । उनको मुद्दाको सुनुवाइ  अब २८ गतेमात्र हुनेछ ।