नवदुलहीसहित ४ जनाको सेल्फी खिच्‍ने क्रममा चिप्लिएर मृत्यु

नयाँ दिल्ली, असोज २२ । भारतको तमिलनाडुस्थित एक बाँधमा सेल्फी लिने क्रममा चिप्लिएर नवदुलहीसहित एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा, २० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ । नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने जोगिन सफल भएका छन् । सन् २०११ यता विश्वव्यापी रुपमा सेल्फीका कारण २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

 

सन् २०१८मा गरिएको एक अध्ययन अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी भारतका रहेका छन् । स्थानीय कृष्णागिरी जिल्लाका वरिष्ठ प्रहरी अधिकारी एस प्रभाकरले जनाए अनुसार पम्बर बाँधमा गएको आइतबार सो घटना भएको हो ।

 

“बाँधमा उनीहरुले सेल्फी लिने प्रयास गरेका रहेछन् । त्यही बेला चिप्लिए ।उनीहरु त्यहाँ भएको बेलामा पानीको तह बढेको थियो”प्रभावकरले भने । मृत्यु हुनेहरुको शव तत्कालै बाहिर ल्याइएको थियो । भारतको जर्नल “फेमिली मेडिसिन एण्ड प्राइमरी केयर”ले सार्वजनिक गरेको पछिल्लो एक अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सन् २०११को अक्टोबर देखि २०१७को नोभेम्बर सम्ममा सेल्फी खिच्दा विश्वभरीमा २५९ जनाको मृत्यु भइसकेको छ । एजेन्सी,