चीनका राष्ट्रपतिको राजकीय भ्रमण भोलिदेखि

काठमाडौँ, असोज २४ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक राजकीय भ्रमणमा शनिबार नेपाल आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको उच्चस्तरीय भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ ।

 

विश्वका उच्च प्रभावशाली नेताहरूको सूचीमा परिचित राष्ट्रपति सीको भ्रमणलाई नेपाल सरकारले विशेष महìवका साथ तयारी गरेको छ । राष्ट्रपति सी यही असोज २५ र २६ गते दुई दिनको नेपाल भ्रमणमा आउनुहुने भएको हो । राष्ट्रपति सीको दुईदिने नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक गर्दै नेपाल सरकारका विभिन्न निकायले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

 

राष्ट्रपति भण्डारीका निजी प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “चीनका महामहिम राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच हुने विशेष भेटवार्तालाई सफल बनाउन राष्ट्रपति कार्यालय जुटेको छ । झन्डै २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमण हुन लागेकाले यसलाई उत्सुकतापूर्वक हेरिएको छ ।”

 

राष्ट्रपति भवन शीतल निवासमा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय भेटवार्ता हुने तय भइसकेको छ । भ्रमणलाई ध्यानमा राखेर राष्ट्रपति कार्यालयको रङरोगन गर्नुका साथै भवन परिसर पनि अझ सुन्दर बनाइएको छ । गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा नेपाल भ्रमणका लागि चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुभएको थियो ।

 

भ्रमणको निम्तो सहर्ष स्वीकार गर्दै राष्ट्रपति सी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल भ्रमणमा रहनुहुँदा सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग विशेष भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ प्रतिधिनिधि मण्डलको स्वागतमा विशेष समारोहसहित रात्रिभोज आयोजना गर्नुहुनेछ ।

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटावार्तालगत्तै उहाँहरूको समुपस्थितिमा नेपाल र चीनबीच विभिन्न द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सीसँग नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शिष्टाचार भेट गर्नुहुने छ । गोरखापत्र दैनिकमा खबर छ।