प्रदेश राज्यमन्त्री प्रकाश रावलले दिए पदबाट राजीनामा

धनगढी,कार्तिक २४। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् ।

राज्यमन्त्री रावलले आईतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।

 

‘ममाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानबिन होस् र त्यस्तो पूर्वाग्रहरहित वस्तुपरक छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ’, राजीनामा पत्रमा भनिएको छ, ’यस्तो छानबिन गर्न सहज होस् र न्याय स्थापित होस् भन्ने आशयबाट मैले बहन गर्दै आएको सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको पदबाट आजैका मितिदेखि राजीनामा दिएको छुँ ।’

 

उहाँले आफूले प्राप्त गरेको सफलता र जिम्मेवारीप्रति नकारात्मक चिन्तन भएका केही व्यक्तिहरुले झुठा आरोप लगाउँदै बदनाम गर्न नयाँ षडयन्त्र गरिएको कुरा घटनाक्रमले देखाएको राजीनामा पत्रमा दाबी गरेका छन् । ठगीको मुद्दा दायर भएपछि पार्टी र प्रदेशसभामा उनलाई पक्राउ गर्न दबाब सिर्जना भएको थियो ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी प्रकरणमा रावल समेत मुछिएका छन् ।

 

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३९क० बाट प्रदेश सभा सदस्यमा तत्कालिन नेकपा एमालेबाट निर्वा्चित रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालन समितिका पूर्व–अध्यक्ष तथा सेयर सदस्य समेत हुन । रावल सहित क्याम्पसका ३६ जना सेयरधनी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।