सुनचाँदीको भन्सार मूल्य बढ्यो

काठमाडौँ, कात्तिक २७ । सरकारले विदेशबाट व्यावसायिक प्रयोजनका लागि आयात हुने र विदेश गएका व्यक्तिले नेपालमा ल्याउने सुनको भन्सार दर बढाएको छ । आर्थिक ऐन, २०७६ लाई संशोधन गर्दै यस्तो दर बढाइएको हो । सोमबार राजपत्रमा प्रकाशित गर्दै व्यावसायिक प्रयोजनका लागि आयात गरिने प्रति १० ग्राम सुनमा लाग्ने महसुल दर पाँच हजार रुपियाँबाट छ हजार पाँच सय रुपियाँ पु¥याइएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको भन्सार महसुल ५६ रुपियाँबाट ७५ रुपियाँ कायम गरिएको छ ।

 

विदेशबाट फर्केका नेपालीले ल्याउने सुनको भन्सार दर पनि बढाइएको छ । संशोधित नियमअनुसार पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम सुनको सात हजार पाँच सय रुपियाँमा भन्सार दर कायम छ । ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम आठ हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ ।

 

विदेशबाट ल्याउने सुनको गहनाको हकमा ५० ग्रामसम्मका सुनका गहनामा भन्सार छुट गरिएको छ । ५० ग्रामदेखि एक सय ग्रामसम्मका गहनामा प्रति १० ग्राममा आठ हजार पाँच सय र ५० ग्रामभन्दा माथि एक सय ग्रामसम्मका गहनामा प्रति १० ग्राम १० हजार रुपियाँ भन्सार दर कायम गरिएको छ । यी भन्दा बढी तौलका सुन आयात गरिएमा जफत गरिने पनि स्पष्ट पारिएको छ ।

 

संशोधित ऐनमा कतिपय वस्तुको भन्सार महसुल भने घटाइएको छ । चल्ला कोरल्ने अन्डाको आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले घटाइएको छ । त्यस्तै तयारी रङ उत्पादन गर्ने उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार लाग्नेमा १० प्रतिशत घटाएर २० प्रतिशत पु¥याइएको छ ।

 

केही वस्तुको अन्तःशुल्कमा पनि सामान्य हेरफेर भएको छ । स्वदेशमा उत्पादित १२ प्रतिशत मात्र अल्कोहलको मात्रा भएको वाइनमा बाहेक अन्य वाइनमा अन्तःशुल्कको दरमा ३० प्रतिशत छुट हुनेभएको छ । कपालमा प्रयोग हुने कस्मेटिक वस्तुमा अबदेखि पाँच प्रतिशतको सट्टा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । फलाम वा इस्पातको सरसफाइसम्बन्धी सामान र तिनका पार्टपुर्जामा पनि पाँच प्रतिशत अन्तःशुल्क लगाइने भएको छ । कफीजन्य मालवस्तुमा पनि १० प्रतिशत अन्तःशुल्क निर्धारण भएको छ ।

मन्त्रिपरिषद्को यही १८ गते बसेको बैठकले आर्थिक ऐन संशोधनको अनुमति दिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।