कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ! सरकारले कुटनैतिक पहल चाल्नै पर्छ !!

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश

सम्पर्क कमिटी सदस्य – तारादत्त भट्ट

 

कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो !!!
सरकारले कुटनैतिक पहल चाल्नै पर्छ !!

कालापानी नेपालको सुदूर पश्चिमको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित भूभाग हो, जहाँ नेपाल सरकारको असहमतिका बीच भारतले आफ्नो सुरक्षा फौज तैनाथ गरेको छ ! विक्रम संवत १८१६ मा नेपाल र ब्रिटिश इन्डिया बीच भएको सुगौली सन्धीले नेपालको पश्चिम सीमा महाकाली नदीलाई बनाएको छ । महाकाली (काली) नदीभन्दा पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । तर महाकालीको मुहानका बारेमा विवाद सिर्जना गरिएको छ ।

नेपाली भूभागमा भारतले सीमा सुरक्षा फौज तैनाथ गरेको र कृत्रिम नदी बनाएको ठाउँलाई कालापानी नाम दिइएको छ, जसको स्थानीय नाम तिल्सी हो । ब्रिटिश इन्डिया र नेपाली पक्षबीच सहमतिमा जारी गरिएका नक्साहरूमा लिम्पियाधुराबाट उत्पत्ति हुने नदीलाई नै महाकाली (काली) नाम दिइएको छ र त्यसैलाई सीमा कायम गरिएको छ । कालापानी र लिम्पियाधुराको बीचमा कुटी, गुञ्जी र छाङरु गरी तीनवटा गाउँ पर्दछन् । ती गाउँको जनगणना, मालपोत संकलन र अरू दस्तावेजहरू पनि उपलब्ध छन्, जसले यो भूमि निर्विवाद रूपमा नेपालको हो भन्ने स्पष्ट हुन्छ ।

त्यसैले कालापानीभन्दा ३० किलोमिटर उत्तर पश्चिममा अवस्थित लिम्पियाधुराबाट यस नदीको उत्पत्ति हुने अडान नेपाली पक्षको रहँदै आएको छ । तर भारतले १९५० को दशकमा तिल्सी क्षेत्रमा आफ्नो सुरक्षा फौज तैनाथ गरी त्यही ठाउँलाई कालापानी नाम दिई महाकालीको उत्पत्तिस्थलका रूपमा समेत त्यहीँको एउटा सानो खोल्सालाई देखाउँदै आएको छ । वास्तविक महाकालीलाई कुटी याङ्दी भनी पछिल्ला भारतीय नक्साहरूमा उल्लेख गरिएको पाइन्छ । ४०० किलोमीटर स्क्वायरको विवादित क्षेत्र ओगटेको छ । भारतले आफूले ओगटेको ७० वर्ष भइसकेकाले त्यस क्षेत्रलाई आफ्नो नक्साभित्र राख्नु स्वाभाविक अधिकार भएको दावी गरेको छ ।

 

लिपुलेक भन्ज्याङ (उचाइ ५,२०० मिटर (१७,१०० फिट)) नेपाल र तिब्बत, चीनको सिमानामा रहेको भञ्ज्याङ हो । यो नेपालको भूमि भए तापनि यसको नियन्त्रण भारतले गरिरहेको छ । प्राचीन समयदेखि व्यापारी र भक्तजनहरू तिब्बत यात्राको लागि यो बाटो हुँदै यात्रा गर्छन मानसरोवर जाने भक्तजनले यो मार्ग प्रयोग गर्छन् । नेपालको सहमतिबेगर सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला यस भञ्ज्याङलाई व्यापारवृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो ।

 

लिपुलेक नेपालको भूभाग हो । कीर्तिनिधि विष्ट नेपालका प्रधानमन्त्री छँदा नेपालको उत्तरी सीमाहरूमा रहेका भारतीय सुरक्षा फौजका पोस्ट हटाइदिएका थिए । तिनैमध्येको एक टुकडीलाई भारतले लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणमा रहेको तिल्सी उपत्यकामा राखेको छ । त्यही ठाउँमा उत्पत्ति हुने एउटा सानो खोलालाई महाकालीको मुहान, त्यहीँ बनाएको एउटा मन्दिरलाई काली माताको मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यहीँसम्म हो भनेर देखाइरहेको छ । यसलाई नेपाली पक्षले आफ्नो भूमिमाथिको अतिक्रमण भनेको छ ।

 

लिम्पियाधुरा नेपालको पश्चिमोत्तर क्षेत्रको अन्तिम सिमाना विन्दु हो, जहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । महाकालीका मुख्य योगदानकर्ता नदीहरुमध्ये काली नदी (स्थानीय बोलीमा कुटी याङ्दी) लिम्पियाधुराबाटै उत्पत्ति हुन्छ । यद्यपि, लिम्पियाधुराबाट करिब ३० किलोमिटर पूर्व कालापानीमा भारतीय सीमा सुरक्षा फौज इन्डो टिबेटन बोर्डर पुलिसको शिविर राखेर त्यहीँसम्मको भूमिलाई आफ्नो दावी गरिरहेको छ । त्यसलाई नेपालले भारतको गलत दावी भन्दै अतिक्रमणको संज्ञा दिएको छ ।

 

नेपालले सुगौली सन्धिअनुसार महाकालीको उत्पत्ति विन्दु लिम्पियाधुरा भएकाले त्यसैलाई चीन, भारत र नेपालको त्रिदेशीय सीमाविन्दु मान्नुपर्ने दावी गर्दै आएको छ । कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजका छलफल गर्न तयार रहेको नेपालको अडान छ । नेपालसँग सुगौली सन्धि गर्ने पक्ष तत्कालीन ब्रिटिस इन्डियाको नापी विभागले जारी गरेका नक्साहरुमा लिम्पियाधुरालाई नै महाकाली नदीको उत्पत्तिस्थल तथा नेपाल-भारतको अन्तिम सिमाना कायम गरिएको छ र त्यसमा नेपालले पनि सहमति जनाएको छ ।