उखु किसानले समयमै भुक्तानी नपाउनु अन्याय : काँग्रेस

काठमाडौँ, पुस १६  । नेपाली काँग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेका भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेको उल्लेख गरेको छ ।

 

समयमै रकम भुक्तानी नपाउँदा किसानमाथि अन्याय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो ।

 

उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौँसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ”, विज्ञप्तिमा उल्लेख छ । आन्दोलनरत किसानका मागलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दलले माग गरेको छ ।रासस