राष्ट्रिय सभा सदस्य निर्वाचनः नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा

काठमाडौँ, पुस २४ । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विजय पक्का छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

 

विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राष्ट्रिय जनता पार्टी दुई स्थानमा विजयी हुनेछन् ।

 

राजपा नेपालको दुई स्थान कायमै रहेमा नेकपाले हालको नौ स्थानबाट आठ थपेर १६ स्थानमा जित्न सक्ने दलीय मतदाताको तथ्याङ्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलको यस निर्वाचनमा विजयी हुने अवस्था छैन ।

 

प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता छन् । सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात गरी जम्मा १८ रिक्त पदका लागि मतदान हुँदैछ । मतदान हुँदा उम्मेदवारको नाम र दलको निर्वाचन चिह्न भएको मतपत्र हुने जानकारी निर्वाचन आयुक्त नरेन्द्र दाहालले दिनुभयो ।

प्रदेश १ मा नेकपा अब्बल

सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रदेश १ मा महिला एक, दलित एक र अन्य एक गरी तीन पदका लागि मतदान हुँदैछ । उक्त केन्द्रमा प्रदेश सभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता कायम छन् ।

 

दलगत मतदाताको तथ्याङ्क विश्लेषण गर्दा नेकपाको सबैभन्दा बढी २३६ मतदाता छन् भने नेपाली काँग्रेसको ११७ मत तथा अन्य दलको १४ मत छ । काँग्रेससहित अन्य सबै दलको मत जोड्दा जम्मा १३१ हुन आउँछ । अन्य सबै दलका मतभन्दा नेकपा १३१ मतले यस प्रदेशमा अगाडि रहेको छ । यस हिसाबले यस प्रदेशमा नेकपाका उम्मेदवार ढुक्क र विजयको नजिक देखिन्छन् ।

प्रदेश २ मा दलीय गठबन्धन

प्रदेश २ मा महिला एक, दलित एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी चार पदका लागि मतदान हुँदैछ । प्रदेश सभा सदस्यतर्पm १०७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाताले मताधिकार पाएका छन् । दलगत मत हेर्दा नेकपा १९५, नेका १००, समाजवादी ८१, राष्ट्रिय जनता पार्टी ७९ र अन्य दलका तीन जना मतदाता कायम छन् ।

 

यस प्रदेशमा सत्तारूढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच निर्वाचनमा मिलेर जाने सहमति भएको छ । नेकपा र राजपा मिल्दा २७४ जना मतदाता कायम हुने छन् । उता, नेका र समाजवादी दलबीच पनि मतदानमा सहकार्य गर्ने सहमति भएको छ । जसअनुसार यी दुई दल मिल्दा १८१ मत हुनेछ । अन्य दलको जम्मा तीन मत रहेको छ । ती मतलाई कसले आकर्षित गर्छ भन्ने यकिन भइसकेको छैन । यस प्रदेशमा नेकपा र राजपा नेपाल गठबन्धनभन्दा नेका र समाजवादी ९३ मतले पछाडि छ । अन्य दलका तीन मत तरल छन् ।

प्रदेश ३ नेकपाको सुदृढ

प्रदेश ३ मा महिला एक र अन्य एक गरी दुई पदका लागि मात्रै मतदान हुँदैछ । प्रदेश सभा सदस्यतर्पm ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता छन् ।

 

तीमध्ये नेकपा २४६, नेका ८९, समाजवादी दुई, नेपाल मजदुर किसान पार्टी चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक एक र विवेकशील पार्टीका चार मतदाता कायम छन् । यस प्रदेशमा नेकपाबाहेक अन्य सबै दल मिल्दा पनि १४४ मतले अगाडि रहेकाले अन्य दलको अवस्था दर्दनाक नै देखिन्छ ।

अन्य प्रदेशमा नेकपा नै अगाडि

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्पm ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन् । महिला एक र अन्य एक गरी दुई पदका लागि मात्रै मतदान हुँदैछ । यस प्रदेशमा नेकपाको १२०, नेकाको ९६ र अन्य दलको जम्मा १४ मतदाता कायम छन् । नेकपाबाहेक अन्य सबै दल मिल्दा पनि यस प्रदेशमा नेकपा ११० मतले अगाडि छ ।

 

यसैगरी प्रदेश ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहमा एक गरी तीन पदका लागि मतदान हुँदैछ । यस प्रदेशमा उक्त केन्द्रमा प्रदेश सभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता छन् । यस प्रदेशमा नेकपा १९२, नेका ८५, समाजवादी १६, राष्ट्रिय जनमोर्चा पाँच र अन्य दलका सात मतदाता कायम छन् । नेकपाबाहेक अन्य सबै दलको मत जोड्दा ११३ मत हुन आउँछ । यो मत नेकपाको भन्दा ७९ मत कम देखिन्छ ।

 

कर्णाली प्रदेशमा महिला एक र अन्य एक गरी दुई पद मात्रै रिक्त छन् । यस प्रदेश सभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता छन् । यस प्रदेशमा नेकपा १४३, नेका ४६ र अन्य दलका नौ जना मतदाता छन् । यस प्रदेशमा नेकपाबाहेक अन्य सबै दलका मतदाता जोड्दा ५५ मत हुन्छ । यहाँ नेकपा अन्य दलभन्दा ८८ मतले अग्रस्थानमा छ ।

 

उता सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य समूहमा एक गरी दुई पदमा मात्रै मतदान हुँदैछ । यस प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता कायम छन् । यहाँ नेकपा १४१, नेका ८६ र अन्य दलका दुई मतदाता छन् । नेकासहितका सबै दलभन्दा नेकपा यस प्रदेशमा ५३ मतले अगाडि देखिन्छ ।

 

स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार यो निर्वाचन हुन लागेको हो । पहिलोपटक गोला प्रथाद्वारा १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको कार्यकाल छ वर्ष कायम गरिएको छ । यस निर्वाचनबाट निर्वाचित हुने सदस्यको कार्यकाल छ वर्षको हुनेछ ।

बिदाइको तयारीमा सांसद

आगामी फागुन २० मा अवधि सकिने राष्ट्रिय सभा सदस्यहरूमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।

 

अर्थमन्त्रीसमेत रहनुभएका राष्ट्रिय सभा सदस्य डा.युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ । पछिल्लो दलीय समीकरण मतदानको दिनसम्म कायमै रहेमा नेकाले सात र समाजवादीले एक स्थानबाट हात धुनुपर्ने अवस्था छ ।

 

विसं २०६५ साल साउन ६ गते भएको राष्ट्रपतिको निर्वाचनमा दलीय मतदाताको सङ्ख्याभन्दा मतदान हुँदाको अवस्था धेरै फरक आएको थियो । त्यति मात्र होइन, २५ मतसम्म बदर भएको इतिहास छ । तत्कालीन संविधान सभा सदस्यले मतदान गर्दा गल्ती गरेको इतिहास छ । त्यसैले यसपटकको राष्ट्रिय सभा सदस्यको मतदान अवस्था कस्तो हुने हो, मतदानपछि मात्रै थाहा हुनेछ ।गोरखापत्र दैनिकमा समचार छ।