नेकपामा संविधान संशोधनको बहस

काठमाडौं, पुस २५ । सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको छ । गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमले ‘संविधान संशोधन’ को सर्त राखेका थिए ।

 

संविधानको धारा ७६ को ९१० मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । यो धाराअनुसार राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने छैनन् । तर नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् ।

 

नेता गौतमकै निवास भैंसेपाटीमा बुधबार भएको छलफलमा सहभागी प्रधानमन्त्री ओली इतरका नेताहरूले गौतमले उठाउँदै आएको विषयमा पुनः एकपटक प्रधानमन्त्री ओलीसँग नीतिगत छलफल गर्ने समझदारी बनाएको सहभागी एक नेताले बताए ।

 

यसअघि प्रधानमन्त्री ओलीले गौतमको सर्त अस्वीकार गरिदिएपछि गौतम ९ माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा उम्मेदवार नबन्ने निष्कर्षमा पुगेका थिए । नेकपाका ९ सदस्यीय सचिवालय सदस्यमध्ये गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र संघीय संसद्मा थिएनन् । प्रवक्ता श्रेष्ठ राष्ट्रियसभा सदस्य उम्मेदवार बनेको छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।