एमसीसी अनुमोदन गराउनु राष्ट्रघाती : मोहन वैद्य

काठमाडौं,माघ ४। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले एमसीसीलाई संसदबाट अनुमोदन गराए राष्ट्रघाती कदम हुने बताएका छन् ।

 

शनिबार विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नु कार्यलाई राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कुकृत्यको संज्ञा दिंदै यस्तो कदमको विरोध एवम् भत्र्सना गरेका छन् ।

 

उनले अमेरिकी साम्राज्यवादी योजनामा एमसीसी आएको र यसले नेपालमा सैन्य अखण्डा निर्माण गरी छिमेकी चीनलाई घेरा हाल्ने योजना अन्तर्गत लागू गर्न खोजिएको आरोप समेत लगाएका छन् ।

 

वक्तव्यमा महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आमजनसमुदायसहित सम्पूर्ण देशभक्तहरुमा अपिल समेत गरेका छन् ।

वक्तव्यमा यस्तो भनिएको छ

‘यतिबेला नेपालको राजनीति एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट) को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेरा हाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो शैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोड दिइराखेका छन् ।यस प्रकारको स्थितिको गम्भीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुलाई जोडदार आह्वान गर्दछ ।