देजमोले बुझाएको नक्शा टाँस्यो तनहुँ प्रशासनले

गाेपाल जीसि

तनहुँ,माघ ५ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल तनहुँले लिम्पियाधुरा सहितको नेपालको नक्शा जारी गरी राष्ट्रिय स्वाधिनताको रक्षा र मिचिएको सिमा समस्या समाधानको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

 

देजमो नेपाल जिल्ला समिति तनहुँले प्रमुख जिल्ला अधिकारी रूद्रराज पण्डित मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 

 

देजमोले लिम्पियाधुरा सहितको नेपालको नक्शा समेत बुझाउँदै ज्ञापन पत्र पढेर प्रजिअलाई सुनाएको थियो । देजमो नेपाल तनहुँका अध्यक्ष बेनी बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य दिनेशले नक्शा हस्तान्तरण गरेका थिए ।

 

 

देजमो नेपाल ४ नं प्रदेशका अध्यक्ष नेत्र रानाभाटले ज्ञापनपत्र र नेपालको नक्शा बुझाउनुपर्ने कारण प्रष्ट पारेका थिए । ज्ञापन पत्र र नक्शा ग्रहण गरी कार्यकक्षमा झुण्ड्याउदै प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय स्वाधिनता रक्षाको लागि आम नागरिकलाई सचेत पारेकोमा धन्यवाद दिदैं उक्त ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।