अख्तियारले वडाध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ ,माघ ६।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान जिल्लाको बागचौर नगरपालिका– २ का वडाध्यक्ष घनश्याम शर्मासहित ६ जना विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

मुद्दा दायर गरिएकामा शर्माका अतिरिक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक, सचिव अनिता विक, नगरपालिकाका सबइन्जिनियरद्वय थमन योगी र तोरणबहादुर विष्ट छन् ।

 

बागचौरको भानुभक्त निमावि, धनचुली हुँदै चिल्ढाले सडक निर्माणका क्रममा हुँदै नभएको कामको रकम भुक्तानी गरी अनियमितता गरेकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी उनीहरुले एक सय मिटर मात्र नयाँ ट्रयाक निर्माण भएको अवस्थामा बदनियतपूर्वक थप सय मिटर समेत भएको भनी रकम भुक्तानी गरेर साढे ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।