मिडिया काउन्सिल विधेयकका विरुद्ध महासंघ संर्घष गर्ने तयारीमा

बुटवल, माघ ११ ।नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले ल्याएको मिडिया विधेयक अस्वीकार्य भएको बताएका छन् ।

 

रिपोटर्स क्लब प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले यसका विरुद्ध सडकमा जान पनि तयार रहेको बताए ।

 

 

‘मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याईएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकले सरकार निरंकुशतातर्फ जान खोजेको संका उत्पन्न भएको छ’, पोखरेलले भने, ‘हामीलाई सडकमा जानका लागि बाध्य पारिदैं छ । त्यसका लागि अहिले हामी पूर्व–तयारीमा छौं ।

 

संबिधानमा उल्लेख गरिएका बोल्न पाउने र संगठित हुन पाउने अधिकारनै सरकारले हनन् गरिरहेको भन्दै उनले अब यसैका बिरुद्ध पत्रकार महासंघ सडकमा आउनुपर्ने अवस्था आएको बताए ।

 

पत्रकार महासंघ आन्दोलनमा रहदा संसदमा पेश भएका र हुने मिडिया सम्बन्धि सबै प्रकारका बिधेयकमा पत्रकार महासंघ र सरोकारवालासंग छलफल गर्ने सहमति समेत दुइतिहाइको सरकारसंग भएको उनले स्मरण गरे ।

 

 

‘सरकारले प्रतिबद्धता नै उल्लंघन गरेको छ, मिडिया र नागरिकको अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको प्रति हामी गम्भिर छौं । ,उनले भने ।‘बिधेयकको दफा ८३ देखि १५५ सम्म हामीले नोटिस गरेका छौं, पुर्नलेखनले मात्रै हुदैन हटाउनैपर्ने भन्दै उनले गुपचुपमा कानुन ल्याएर नागरिकमाथि डण्डा बर्जान नपाइने बताए ।

 

 

नेपाल बार एसोसिएशन उच्च अदालत तुलसीपुर बुटवलका अध्यक्ष जोकबहादुर खत्रीले सरकारले ल्याएको मिडिया विधेयकलाई खारेज गर्न माग गरेका छन् ।

 

 

सरकार आफ्नो दम्भमा निरङ्कुशतातर्फ अग्रसर भएको औल्याउदै उनले प्रतिपक्ष दलको भूमिकामा समेत प्रश्न उठाए । ‘विरोध गर्नुपर्ने कुराहरूलाई प्रतिपक्ष दलले एक पटक विरोध सभा गरेर मात्रै भूमिका पूरा हुँदैन’, उनले भने, ‘जनमत तयार पार्नका लागि भएपनि जनहित विरुद्ध सरकारका क्रियाकलापहरूमा लगातार आवाज उठाउन सक्नुपर्छ ।

 

 

राष्ट्रय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाइँले पार्टीगत संगतले पत्रकारिता भुत्ते भएको टिप्पणी गरेका छन् । निष्पक्ष पत्रकारितालाई जोड दिँदै उनले सरकारले ल्याएको मिडिया विधेयकले लेखेकै भरमा बोलेकै भरमा जेल जानुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।