चेक अनादार तथा बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

काठमाडौं, फागुन २१ । मुलुकी अपराधसंहिता लागू भएसँगै चितवनमा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ ।

 

प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६–७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

 

यस्तै आव ०७४/७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताए । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो ।

 

जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए । रासस