कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु

तेहरान । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् । 

 

पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए । 

 

उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए । इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ । 

 

जोहानपोरले यसबीच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको बताए । कोरोनाको सङ्क्रमणबाट सर्वा्धिक प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन् । 

 

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

 

इरानले अझैसम्म आधिकारिक रुपमा मानिसहरुलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरु बन्द गर्न आदेश दिएको छ । रासस