कोरोना भइरस(कोभिड १९)को छैटौं संक्रमित भेटिए

 काठमाडौं,चैत,२० । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए ।

 

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।