लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

काठमाडौँ, चैत २२ । सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।

 

मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।

 

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्देशिका बनाउने क्रममा भएको र एक÷दुई दिनमै निर्देशिका तयार हुने बताउनुभयो । निर्देशिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उहाँको भनाइ छ । मन्त्रालयका अनुसार ती कम्पनीले आआफ्ना पाँच÷पाँचवटा बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत बिक्री गर्दै आएको खाद्यान्न सामग्री निर्देशिकाका आधारमा सम्बन्धित वर्ग वा समुदायलाई वितरण गरिने छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हाल विभिन्न पाँच ठाउँबाट सुपथ मूल्यमा कम्पनीका खाद्यान्न वा इन्डक्सन चुलो उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार सो कम्पनीले केन्द्रीय बिक्री केन्द्र थापाथली, रामशाहपथ, ललितुरको लगनखेलस्थित प्रयागपोखरी, भैँसेपाटीस्थित नख्खु चोक र भक्तपुरको सूर्यविनायकबाट चामल, कर्णालीको सिमी, तीतेफापर र इन्डक्सन चुलो बिक्री गर्दै आएको छ ।

 

यस्तै साल्ट टे«डिङ कर्पोरेसनले केन्द्रीय कार्यालयसहित विभिन्न पाँच ठाउँबाट नुन, चिनी, अन्य खाद्यान्न र एसटीसी ग्यास बिक्री गर्दै आएको छ । त्यस कम्पनीले तीनवटा मोबाइल भ्यानमार्फत पनि कर्पोरेसनका खाद्यान्न उपलब्ध गराउँर्दै आएको छ । सो कम्पनीले ग्यास कालीमाटीको केन्द्रीय कार्यालय, सतुङ्गल र कोटेश्वरमार्फत बिक्रीको व्यवस्था गरेको छ भने अन्य सामान थप दुई ठाउँ जाउलाखेल र भक्तपुरबाट पनि गर्दै आएको छ । आपूर्ति मन्त्रालयले निर्देशिका तयार गरेपछि ती कम्पनीले आफ्ना बिक्री केन्द्रबाट बिक्री गर्दै आएका सामान १० प्रतिशत छुटसहित तोकिएका वर्ग समुदायलाई उपलब्ध गराउने छन् ।

 

यसबापत ती कम्पनीले छुट गराएबापतको रकम अर्थ मन्त्रालयले आपूर्ति मन्त्रालयमार्फत उपलब्ध गराउने छ । खाद्य कम्पनीको चामल अन्य पसलको तुलनामा सस्तो भए पनि उपभोक्ताको आकर्षण इन्डक्सन चुलोमा बढी छ । साल्ट टे«डिङ कर्पोरेसनले चामल, दाल, गेडागुडी, आँटा, नुन, चिनी, तेल र एसटीसी ग्यास बिक्री गर्दै आएको छ तर पनि यस कम्पनीबाट अन्य सामानभन्दा एसटीसी ग्यास, नुन, चिनीको बढी कारोबार भएको सो कर्पोरेसनले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ।