योद्धाका अगाडि युद्धको बखान

खगेन्द्र गिरी ’कोपिला‘
‘हुँदै नहुने कुरा नगर
गोरु दुहुने कुरा नगर
धुप धुपाई शङ्ख बजाई
चन्द्रमा छुने कुरा नगर’
सुरेन्द्रबहादुर शाही ‘सुगम सरोवर’ का यी गजलीय सेरहरुमा अभिव्यक्त एक प्रकारको निराशाको आवाज र एक प्रकारको चेतावनीको स्वरभित्र सुन्दर नेपाल बनाउने सपना धमिलिन लागेको नेपाली आम जनमानसको चिन्ताको भाव भेटिन्छ । यस्तैयस्तै भावयुक्त स्वरमा प्रतिबिम्बीत गजलको रङग आजभोलि साहित्यिक कार्यक्रममा सुन्न पाउँदा, लाग्छ, कतै यो देश फेरि निराशाको सुरुङभित्र प्रवेश गर्न थोलेको त हैन ?
प्रसंग हो २०६८ माघ २१ गते सुर्खेतको छिन्चुमा सम्पन्न यौटा साहित्यिक कार्यक्रमको । जसमा वाचन र गायन गरिएका तीन दर्जन भन्दा बढी गजल र कविताहरुमा आजको नेपाली राजनितिको गतिरोध र सामाजिक अन्यौलको चित्र स्पष्ट सित झल्किएको थियो ।
सुर्खेतको दशरथपुर, कल्याण, गुमी र लेखफर्साका क्यान्टोनमेन्टका साहित्यिक मनहरु २०६६ सालदेखि ‘पर्दा’ नामको साहित्यिक पत्रिकाको प्रकाशन गरेर आफ्नो राजनैतिक बाटोभन्दा नितान्त फरक बाटोमा हिँड्ने र साहित्यको माध्यमबाट मानवता र प्रेमको सन्देश दिने प्रयत्न गरिरहेका थिए । ‘पर्दा’ को त्यस पटकको अंक क्यान्टोनमेन्टबाट अन्तिम पटक प्रकाशित भएको थियो र त्यहि सन्दर्भमा छिन्चुमा यौटा साहित्यिक कार्यक्रमको आयोजना भएको थियो । सबै विचार र सबै क्षेत्रका साहित्यकर्मीको जमघट रहेको सो कार्यक्रम सच्चा अर्थमा साहित्यलाई राजनितिभन्दा माथिको मानवताबादी थलोको रुपमा चिनाउन सफल भएको देखिएको थियो ।
सङ्कल्प निर्मोही, संवेग वियोगी र सुगम सरोवरजस्ता प्रेमिल हृदय बोकेका स्रष्टाहरुको निम्तोमा हामी छिन्चु पुगेका थियौं । जाडोको याममा प्रकृतिका अवरोधहरु झेल्दै नेपालगंजबाट छिन्चुसम्म पुग्नु आफैमा चुनौतिको कुरा थियो, तैपनी हामी मनभरी उत्साह र आँखाभरी माया बोकेर छिन्चुतर्फ हान्नियौं । बताससित बयेली खेल्दै मोटर साइकिलको एक्सिलेटर बटार्दै कोहलपुरदेखि छिन्चुसम्मको ५८ किलोमिटर लामो पहाडी बाटो छिचोलेको पत्तै भएन । छिन्चुपुग्दा स्थानिय उच्च मा.वि.को प्राङ्गणमा हँसिलो मुस्कान बोकेर हामीलाई स्वागत गर्न उभिएका थिए सङ्कल्प निर्मोही र संवेग वियोगी । त्यहाँ सुर्खेतको दशरथपुर, कल्याण र लेखफर्साका युवा स्रष्टाहरुका साथ–साथै वीरेन्द्रनगर र कोहलपुरबाट पनि हुलका हुल स्रष्टाहरु आएका थिए हामीजस्तै मनभरी उत्साह र आँखाभरी माया बोकेर ।
एकछिनको भलाकुसारीपछि कार्यक्रमको शुरुआत भएको थियो सङ्कल्प निर्मोहीको उद्घोषणसितै । सुर्खेतका वयोवृद्ध कवि पृथ्वीबहादुर सिंहको सभापतित्व, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा.दीपक गौतमको प्रमुख आतिथ्य र बर्दियाली साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आएका टाढा–टाढाका पाहुनालाई आत्मियतापुर्वक स्वागत गर्न आयोजकले कनै कसर बाँकी राखेनन् । कार्यक्रमस्थलमा पगेका प्रत्येक पाहनालाई गेटमैं उभिएर स्वागत गरिरहेका ‘पर्दा’का सम्पादक तिलक वली ‘संवेग वियोगी’ ले नै हँसिलो मुस्कानका साथ कार्यक्रमको औपचारिक शुरुआतमा सबैलाई आत्मिय स्वागत गरेका थिए काव्यिक अभिवादनका साथ । प्राज्ञ डा.गौतमको हातबाट क्यान्टोनमेन्टबाट निस्केको ‘पर्दा’ को अन्तिम अंक सहित ‘रारा गजल सरोवर’ नामक गजलसङ्ग्रह र ‘भेरी जनसुस्केरा’ नामक पत्रिकाको पनि विमोचन गराइएको थियो । त्यसपछि शुरु भो रचनावाचनको क्रम । कार्यक्रममा क्यान्टोनमेन्टभित्र बसेर आफ्नो भविष्यको सुनौलो सपना बोकेका युवाका विविध खाले सपना र विविध खाले अनुभूतिका छटा र बान्कीहरु पनि कविता, गजल र मुक्तकमा पोखिएको देखियो ।  गौरव के.सी. ‘सायर’ को कलमले यसरी बोल्योः
‘कलमसंग नाल समायोजन छ
आउने यही साल समायोजन छ
कलम लेख्छ, सबै बन्दुक ओकल्छ
हो रगतकै लाल समायोजन छ’
क्यान्टोनमेण्टमा बसि आफ्नो सुखद भविष्यको आगमन हुने धमिलो सपना बोकीरहेका केही उत्साही युवाहरु साहित्यसित एकाकार हुने प्रयत्न गरिरहेका थिए । यौटा निश्चित राजनैतिक उद्देश्यका लागि बन्दुक उठाएर हिजो आफ्नो राजनैतिक बाटोभन्दा बाहेकका सबैसित लड्न–भिड्न तम्सिने युवाहरु आजभोलि निकै बदलिएका थिए र साहित्यबाट मानवता र प्रेमको सन्देश फिजाउन खोजिरहेका थिए । त्यही सिलसिलामा ‘पर्दा’ नामक पत्रिका जन्मिएको थियो । क्यान्टोनमेन्टमा बसेका सैन्य पृष्ठभूमिका युवाहरुद्वारा प्रकाशित भएर पनि यस पत्रिकामा न त राजनैतिक आग्रह पूर्वाग्रह देखिएको थियो न त राजनैतिक उद्देश्य देखिएको थियो । देशका हरेक विचार र हरेक चरित्रहरुलाई ‘पर्दा’ ले ठाउँ दियो र त मध्यपश्चिमको साहित्यिक फाँटमा ‘पर्दा’ नवप्रतिभाहरुको साझा र भरपर्दो मञ्च बन्न पुगेको थियो । । मुगुमा जन्मेर त्यतिबेला लेखफर्सामा बसेका सूर्यबहादुर रोकाया ‘सङ्कल्प निर्मोही’ ‘पर्दा’ का परिकल्पनाकार, सम्पादक र व्यवस्थापक सबै हुन् । उनलाई तिलक वली संवेगवियोगीको दरिलो साथ पनि प्राप्त थियो । यी दुवै जनाको उदार सम्पादकीय शैलीले क्यान्टोनमेन्टभित्रका साहित्यिक मनलाई बाहिरका स्रष्टासित सम्पर्कमात्र होइन नवीन सम्बन्ध जोडेर अध्ययन तथा साहित्यिक विमर्शको दायरालाई फराकिलो बनाउने वातावरण पनि तयार ग¥यो । क्यान्टोनमेन्टभन्दा बाहिर गएर पनि ‘पर्दा’ लाई निरन्तरता दिने संकल्प गर्दै संकल्प निर्मोहीले यसो भनेका थिएः
‘झण्डैझण्डै मरेथेँ युद्धमैदानमा
दैवको भाग परेँथेँ युद्धमैदानमा
आऊ शहिदका सपना साकार पारुँ
यस्तै सन्देस छरेथेँ युद्धमैदानमा’
सुर्खेत मात्र होइन दैलेख, बाँके, बर्दिया र कैलाली एवम् दाङसम्मका स्रष्टाहरुको उल्लेख्य उपस्थिति रहेको सो साहित्यिक कार्यक्रममा सबै किसिमका बैचारिक सीमारेखाहरु मेटिएको देखिनु र साहित्यको सौहाद्र्रता तथा आत्मियताले सबैलाई बाँधेको देखिनु सकारात्मक पक्ष थियो । नरेन्द्र कार्की ‘सुधा कल्पित’, रेशम हमाल ‘ऋतुरात’, दीपबहादुर रावत ‘दीपज्योती’, गणेश वि.क., सम्मान वी.सी., कल्पना सिंह ‘विरही’, जस्ता त्यतिबेला क्यान्टोनमेण्ट छाडेर नयाँ र खूल्ला जीवनको सुरुआत गर्न लागेका स्रष्टाहरुले आफ्ना सिर्जनाबाट युद्धको त्रासद अनुभव, सुन्दर नेपाल बनाउने सपना, नेताहरुप्रति कटाक्ष र बिग्रदो राजनैतिक परिस्थितप्रति व्यङग हानेका थिए ।
क्यान्टोनमेण्टभन्दा बाहिरका स्रष्टाहरुले पनि आफ्ना सिर्जनाका विविध बान्कीबाट समसामयिक सन्दर्भको पर्दा उघारेका थिए । दैलेखका युवा गजलकार विद्या निर्दोष पहाडीले भनेका थिएः
‘ए बुद्ध तिमी लुम्बिनी कहिले फर्किन्छौ?
तिम्री आमाले जिते नि कहिले फर्किन्छौ?
यहाँ तिम्रा दाजु भाई युद्धले ग्रस्त छन्
शान्तिको औषधी किनी कहिले फर्किन्छौ?
सुर्खेत साठाखानीका युवा कवि बालु पिडित आफ्नो निराशा यसरी पोखेका थिएः
‘नाम निशान थर हराएपछि
तिमी भएर बेखबर हराएपछि
सडकपेटीमा निदाउँछु अचेल
भएको त्यो सानो घर हराएपछि’
सुर्खेत मेहेलकुनाका सन्तोष सायर‘गरिब’का शब्दहरु यसरी बगेका थिए
‘को को सागर तरे ती सबै हराए
जो जन्मे जो मरे ती सबै हराए
खै के खोट थियो छत्रछायामा?
जो जो बसाई सरे ती सबै हराए’
सुर्खेतको राकमका स्रष्टा रमेश चन्द ‘कुसुम’ को गजलले गजलकार हुनुको जिम्मेवारी र प्रेमि बन्नु विवशताको सन्दर्भ यसरी जोडेका थिएः
‘अचेल सिंहदरबारका कुरा गर्छिन् उनी
मन्त्री र सरकारका कुरा गर्छिन् उनी
आफूलाई यहाँ देशको चिन्ता छ
सुब्बा र खरिदारका कुरा गर्छिन् उनी’
दैलेखका महेन्द्र चन्द महासागरका यी शब्दहरुले अबको नेपालको साझा मार्गचित्रको खाका यसरी कोर्न भ्याएका थिएः
‘अब सबैसबैको हीत हुनुपर्छ
कमिलाको जस्तो रित हुनुपर्छ
अनि विजयको गीत गाउँला
पहिले त तिम्रो जित हुनुपर्छ’
सुर्खेतका परिचित पत्रकार तथा कवि गणेश कञ्चन भारती देशको सस्कृति, सभ्यता, मौलिकता र मूल्यमान्यताको गिर्दो अवस्थालाई हेरेर यसरी निराश भएः
‘यहाँ देश मन पराउनेहरु बहुत कम छन्
आफ्नो भाषाभेष मन पराउनेहरु बहुत कम छन्’
बर्दियाका पछिल्लो पुस्ताका प्रतिभाशाली कवि अमृत ढकाल ‘निर्जन’ ले ‘पर्दा’ को समिक्षा गर्ने सिलसिलामा विश्वेश्वर प्रसाद कोइरालाको भनाई यसरी जोडेका थिए—‘राजनितिले सबै झ्यालढोकाहरु बन्द गर्न खोज्छ भने साहित्यले सबै झ्यालढोकाहरु खोल्न खोज्छ’ । उनले आफ्नो तर्फबाट थपेका थिए—‘हामीले पनि साहित्यको दायरालाई खुम्चिन दिनु हुन्न’ ।
यसका अतिरिक्त कोहलपुरबाट गएका स्रष्टाहरु महानन्द ढकाल, कपिल अञ्जान, बेगम थापा ‘निश्चल’, प्रदीप भट्टराई, राँझाका कृष्ण गिरि, कचनापुरका सप्रिय बिष्ट, बर्दियाकी नारी स्रष्टा अनुपमा करारा ‘विवश’, दाङका ऋषि शर्मा ‘सुदामा’ र कैलालीका डी.वी.दोभान समेतले आआफ्ना रचनाको माध्यमबाट कल्पनाशिलता र अनूभूतिका अनेक रङ्गहरु छर्केका थिए ।
यतिखेर नेपाली समाज अलमल, अन्यौल र दिशाहिनताको अवस्थामा छ । अबको बाटो अगाडी कसरी हिड्ने भन्ने वारेमा मतैक्यता छैन । स्पष्ट मार्गचित्र छैन र रुपरेखा पनि केही छैन । रुपरेखा बनाएर गोरेटो देखाउनु पर्नेहरु नै यो बेला दिशाहिनताको अवस्थामा रहेकोले नेपाली आम मानिसहरु त झन् रानो हराएको मौरी जस्ता बन्न पुगेका छन् । आजको समकालिन नेपाली साहित्यले नेपाली जनमानसको यही मानसिकतालाई कलममा उनिरहेको छ । यस्तै परिवेशमा बसेर आजका स्रष्टाहरु सुन्दर भविष्य निर्माणको कल्पना गर्दै कलमबाट युद्ध गरिरहेका छन् शब्द र अक्षरलाई हतियार बनाएर । छिन्चुको सो कार्यक्रममा पनि यही कुरा झल्किएको थियो । राजनैतिक र सामाजिक परिवर्तनको लागि बन्दुक उठाएर दश वर्षसम्म युद्ध मैदानमा होमिएका योद्धाहरुलाई शब्द र अक्षरको माध्यमबाट युद्ध गरिरहेकाहरुले युद्धको बखान सुनाएजस्तो अनुभूति भइरह्यो मलाई कार्यक्रममा बसुञ्जेल । बन्दुक बोकेर युद्ध गरेका योद्धाहरुले पनि अब कलम समातेर अर्को युद्ध गर्ने शंखघोष गरेको देखिनुलाई मैले साहित्यको सकारात्मक पाटोको रुपमा बुझेको छु।
कार्यक्रममा प्रायजसो हरेक स्रष्टाका कलममा उनिएका निराशाका पीडाहरु दिन भरी सुनिसकेपछि सुर्खेतका परिचित कवि युद्धविक्रम शाहीले भनेका थिए — ‘वर्तमान जति निराशाजनक भएपनि भविष्यको लागि आशाको किरण जगाउन सक्नु पर्छ स्रष्टाहरुले’ । उनको उक्त भनाई प्रति असहमति राख्ने ठाउँ छैन। उनको आशाबादिताले भरिएको सेरलाई हेरौँः
‘खोड्के किनारामा सानो मेरो घर छ
त्यसकै ओरपर मेरो सपनाको सहर छ’
(लेखक अस्थायी ब्यारेक सुर्खेतबाट प्रकाशन हुने साहित्यिक त्रैमासिक ‘पर्दा’ का प्रमुख सल्लाहकार हुनुहुन्थ्यो ।)