आयुर्वेदिक औषधीप्रतिको आकर्षण

डा. राजेन्द्रकुमार गिरी
प्रबन्ध निर्देशक
सिंहदरबार वैद्यखाना विकास समिति

पैंसठ्ठी वर्षीय रामप्रसाद अधिकारी आफ्नो घर अगाडिको मठमा सँधै तुलसीको पूजा गर्छन् । छाती खराब भइरहने भएकाले उनी दिनदिनै सिंहदरबार वैद्यखानाबाट उत्पादित तुलसी चिया पँिउछन् । वैद्यखानाका विभिन्न उत्पादनमध्ये सर्वाधिक बिक्रि हुने शिलाजित तथा च्यावनप्रास लगायत तुलसी चिया पनि एक हो तर सर्वाधिक बिक्रि हुने र धेरैले उपभोग गर्ने तुलसी चियाको प्रमुख कच्चा जडीबुटी तुलसी भारतबाट झिकाइन्छ ।
विषय तुलसीको मात्र होइन । जडीबुटीको समुचित प्रयोग र यसको व्यवस्थापनसम्बन्धी हो । जडीबुटीमा कुनै रासायनिक तत्व नहुने, खाद्य एवम् औषधीको दृष्टिकोणले पाश्र्व प्रभाव नहुने हुँदा संसारभर यसको माग बढ्दै गएको छ । नेपालमा जडीबुटी प्रसस्तै पाइन्छन् भन्ने साधारण व्यक्तिदेखि जडीबुटीको विज्ञलाई थाहा छ तर कहाँ पाइन्छन् भन्ने कुरामा सबै अनभिज्ञ छन् । केवल नेपालका विभिन्न नाकाबाट छिमेकी राष्ट्रमा भित्र्याइने जडीबुटी व्यापारीलाई थाहा छ । अवैधरुपमा छिमेकी मुलूकमा बाहिरिएका जडीबुटी पुनः कच्चापदार्थ औषधीका रुपमा स्वदेश भित्रिन्छन् ।
उपर्युक्त एवम् अनुकुल हावापानी र भौगालिक वातावरणका कारण नेपालको जडीबुटी विश्वबजारमा अत्यन्त लोकप्रिय भएको पाइन्छ । परापूर्वकालदेखि जडीबुटी प्रयोग हुँदै आए पनि जडबिुटीको उद्योगधन्दा व्यापारको समूचित विकास हुन सकेको छैन । नेपालमा हामी सबैले ‘जलश्रोत पछि दोश्रो धनी देश’ भनी जडीबुटीको बखान गर्छौं तर ती जडीबुटीको आवश्यक पहिचान, संरक्षण एवम् सम्वद्र्धनको अभावमा जंगलमै सुकेर, कुहिएर लोप भएर गइरहेका छन् । अर्कोतिर हजारौं मेट्रिक टन जडीबुटी करोडौं नेपाली रुपैयाँ बराबरमा छिमेक िराष्ट्र भारतिर सित्तैमा भित्रिएको विभिन्न तथ्यांकले देखाउँछ ।
सिंहदरबार वैद्यखानाले विगतमा वार्षिक दुई करोड ५० लाख रुपियाँ बराबरको औषधी उत्पादन गरेको देखिन्छ । जुन राष्ट्रिय खपतको अत्यन्त न्यून प्रतिसत हो । उक्त उत्पादनका लागि सिंह दरबार वैद्यखानाले धेरै प्रकारका जडीबुटी टेन्डर प्रक्रियाबाट ठेकेदारमार्फत् प्रयोग गर्दछ । जडीबुटीका ब्यापारीहरु पनि ८० प्रतिसत जडीबुटीहरु भारतबाट आयात गर्छौं भन्छन् । वैद्यखानालाई चाहिने जडीबुटीका कच्चापदार्थ नेपालभन्दा भारतबाट आयातित धेरै छन् ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार करीब ७५ प्रतिसतभन्दा बढी नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जडीबुटीद्वारा निर्मित औषधी प्रयोग गर्दछन् । प्रत्येक नेपालीको भान्छामा जडीबुटीको प्रयोग हुन्छ । नेपालको ग्रामिण भेगमा जनता स्वास्थ्य उपचार एवम् आयआर्जनका हिसाबले जडीबुटीमा नै आश्रित छन् तर उपर्युक्त प्रविधि र व्यवस्थापन, संरक्षण र संवद्र्धन अभावका कारण जडीबुटी खेर गइरहेका छन् ।
देशको अधिकांस भागमा औषधीको दृष्टिकोणले समेत महत्वपूर्ण रुपमा लिइने करीब सातसय प्रजातिका जडीबुटी नेपालमा पाइने भए पनि त्यसको दर्ता, खोज अनुसन्धान एवम् उपयोग हुन सकेको छैन । तर हिमाली जडीबुटीमा कुनै रासायनिक तत्व नहुने हुँदा संसारभर यसको माग बढ्दै गइरहेको छ । ग्रामिण भेगमा विपन्न, गरीब समुदायले परम्परागत रुपमा एवम् वंशाणुगतरुपमा प्रयोग गर्दे आइरहेका जडीबुटीबाट निर्मित औषधीको उपभोग व्यापकरुपमा बढेको छ ।
नेपालमा एकमात्र आयुर्वेद औषधी उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना हो । यस निकायले विभिन्न आरोह अवरोह पार गर्दे आफ्नो साधन, श्रोतको उपयोग गर्दै आइरहेको छ । बजेट अभवाका कारण औषधी उत्पादन तथा मेशिनरी उपकरणहरु जी.एम.पी. मापदण्ड अनुसार भएकाले औषधीको गुणस्तर र कच्चा जडीबुटीको गुणस्तर परीक्षणको कार्यविधि भएको छैन ।
राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा ‘देशमा उपलब्ध जडीबुटीको ब्यबस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणालीको विकास तथा प्रचलित अन्य पूरक चिकित्सा प्रणालीको संरक्षण एवम् ब्यबस्थित विकास गर्नका लागि स्थानीय उपलब्ध जडीबुटीको संरक्षण र समूचित प्रयोगका लागि योजना तथा कार्यक्रसहित निजी तथा सरकारी आयुर्वेदिक औषधी उत्पादनको, गुणस्तरियताको सुनिश्चित गर्दै उत्पादन र व्यवसायीकरणमा जोड दिइनेछ’ भन्ने उल्लेख छ ।
देशभित्र उपलब्ध र विलुप्त हुन लागेका तथा औषधियोग्य जडीबुटीको उचित संरक्षण, उत्पादन, संवद्र्धन एवम् सदुपयोगका निमित्त सर्वसाधारण जनतालाई प्रोत्साहित गरी रोजगारीका अवसर बढाउनुका साथै उनीहरुको जीवनस्तर उकास्न सकिन्छ । लोपोन्मुख जडीबुटी खेतिका बारेमा किसानसँग समन्वय गरेर जग्गा लिने प्रक्रिया शुरु गर्नुपर्ने देखिन्छ । यसका लागि नीतिगत व्यवस्था हुनु जरुरी छ ।
सिंहदरबार वैद्यखानाको गुरुयोजना अनुसार याथासिघ्र बजेटको व्यवस्था नेपाल सरकारबाट हुन जरुरी छ । औषधीको गुणस्तरको नियन्त्रणका लागि दक्ष जनशक्ति एवम् जी.एम.पी. अनुसारका उपकरण एवम्  आवश्यक सामग्री राखी उपर्युक्त मात्रामा कच्चा जडीबुटी तथा तयारी औषधीको चेक–जाँच गर्ने, जडीबुटी उद्यानका लागि हिमाल, पहाड र तराईमा पर्याप्त जग्गाको व्यवस्था गरीनुपर्छ । प्रतिबन्धित जडीबुटी जस्तै कुट्की, मृगशृंस, कस्तुरी आदिको प्राप्ति र संरक्षण सम्बन्धित निकायबाट सहजरुपमा व्यवस्था हुनुपर्ने आवश्यकता छ ।
नेपालमा आयुर्वेद औषधी उत्पादन गर्ने संस्थाका रुपमा गठित सिंहदरबार वैद्यखानाले केही समयसम्म उद्देश्य र गुरुयोजना अनुरुपको कार्य गर्न सकिरहेको छैन । त्यसैले उत्पादन, बिक्रि, बजार ब्यबस्थापन, विकास–विस्तार औषधी ब्यबस्था विभागको निर्देशन र जी.एम.पी. मापदण्ड अनुसार औषधी उत्पादन तथा पूर्वाधार विकास र उत्पादनका पक्षमा योजनाबद्ध रुपमा सुधार गर्नुपर्छ । सरकारी निकायसँग समन्वय गरेर जानु र नीतिगत एवम् कार्यगत रुपमा प्राथमिकतामा पार्नु जरुरी छ ।