जाडोमा बच्चालाई निमोनियाको डर


डा. लोचन कार्की, जनरल फिजिसियन नोवेल अस्पताल, सिनामंगल
जाडो याममा बच्चालाई रुघाखोकी र निमोनियाको संक्रमण नै बढी डरलाग्दो हुन्छ । जाडोमा बच्चाको स्वास्थ्य नै बढी जोखिममा हुन्छ । समयमै सावधानी नअपनाउँदा निमोनिया भएर बच्चाको ज्यानै पनि जान सक्छ । डा. लोचन कार्कीले अभिभावकलाई केही सुझाब दिएका छन्ः
निमोनियाको असर
जाडो समयमा बच्चाको स्वास्थ्यमा सबैभन्दा ठूलो समस्या भनेकै निमोनिया हो । आँखाले नदेखिने किटाणुबाट अचानक श्वासप्रश्वाससँग सम्बन्धित अंगहरूमा संक्रमण भई श्वास फेर्न बाधा हुन्छ । यसले धेरैजसो बच्चाको फोक्सोमा असर गर्छ । श्वासप्रश्वास प्रणालीको महत्वपूर्ण अंग फोक्सोमा विभिन्न कारणले संक्रमण भएपछि निमोनिया हुन्छ । रोगप्रतिरोधी क्षमता कम हुने भएकाले बच्चालाई निमोनिया हुन्छ । फोक्सोमा क्षयरोग, दम तथा एलर्जी हुँदा पनि निमोनिया हुन सक्छ ।
लक्षण
ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण बच्चामा देखिन्छन् । कोखा हान्ने, छिटो–छिटो श्वास फेर्ने, मुखबाट निस्किएको खकारमा कहिलेकाहीँ केही मात्रामा रगत देखिने, ओठ र जिब्रो निलो हुने, पिनास हुनेजस्ता लक्षण देखिन्छन् ।
जोगिने उपाय
यस्तो अवस्थामा चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्छ । बस्ने कोठा तातो बनाएर राख्नुपर्छ । तर, निसासिने गरी कोठा बन्द गर्नु हुँदैन । बन्द कोठाभित्र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन । बिरामीले हाछ्युँ गर्दा नाक–मुख छोपेर सचेतता अपनाउनुपर्छ । मनतातो झोलिलो कुरा खुवाउने । निमोनियाविरुद्धको खोप अनिवार्य लगाउने । ६ महिनासम्म बच्चालाई आमाको दूध मात्रै खुवाउने । ६ महिनापछि आमाको दूधसँगै पोषिलो खानेकुरा खुवाउने । निमोनिया भइहाले समयमै उपचार गराउनुपर्छ । निमोनियाले लामो समयसम्म आक्रमण गरिरहे बच्चामा अल्पकालीन तथा दीर्घकालीन समस्या देखापर्न सक्छ ।