आइओएम सुधारमा हातेमालो गरौं – डिन डा अग्रवाल

किन आइओएममा डिन नियुक्ती पटक पटक विवादमा आउने गरेको छ ?

डा गोविन्द केसीले आफ्नो पहिलो अनशनदेखि पद्धतीको कुरा उठाँउदै आउनु भएको छ । सो पद्धतीमा सरकारले कि त सम्झौता गर्नु हुदैन थियो, सम्झौता गरेपछि त्यसलाई पालन गर्नुपर्छ । आइओएममा डिन नियुक्त गर्दा डा केसीले केही मान्यता पनि स्थापित गर्नुभएको छ । सो मान्यतामा बाधा पुग्ने गरी डिन नियुक्ती हुँदा उहाँले आन्दोलन सुरु गर्नुहुन्छ जस्तो लाग्छ । यस्तै कारणले विवाद सिर्जना भएको होला । अब त्रिविले पनि डिन नियुक्तीको मापदण्ड तयार पारेको सुनिन्छ । सो आधारमा नियुक्त गर्दा अब विवाद नहोला ।

तपाई डिन नियुक्त भएसँगै आइओएमका केही प्राध्यापकहरुले बिरोध गरेका छन् । किन होला ?

सरकारले प्राध्यापक डा गोविन्द केसीको बरिष्ठता को आधारमा डिन नियुक्त हुनु पर्ने  माग सम्बोधन गर्ने क्रममा मलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बरिष्ठता को आधार मा नियुक्त गरेको हो । मलाई दिएको जिम्मेवारी मैले

पूर्ण इमान्दारिताका साथ निर्वाह गर्ने छु ।

उहाँहरुले किन विरोध गर्नुभएको मैले बुझ्न सकेको छैन । उहाँहरुका केही समस्या छन् भने म उहाँहरुसँग बसेर ती समस्या सम्बोधन गर्न तयार छु । म हिजो पनि यही संस्थाका लागि काम गरेको हुँ र आज पनि यही संस्थाका लागि काम गर्न नयाँ जिम्मेवारी पाएको छु । मेरो अनुभव र दृष्टिकोण यही संस्थाको हितमा लगाउने यो अवसर हो मेरा लागि ।

व्यक्तिगत रुपमा मेरो कसैसँग आग्रह वा पूर्वाग्रह छैन । एउटै संस्थामा बसेर लामो समय काम गर्दा केही साथीहरुसँग केही विषयमा मेरा वा उहाँहरुका असहमती भएहोलान् । म पुराना कुरा विर्सिएर नयाँ सोचबाट काम गर्न चाहन्छु । र उहाँहरुलाई पनि पुराना कुरा विर्सिएर आएओएम सुधारमा हातेमालो गर्न आग्रह गर्छु । आखिर हामी सबैले यही संस्थाको हितमा काम गर्ने हो ।

आइओएमले नयाँ सम्बन्धन दिन तयारी गरेको सुनिन्छ नी ?

सरकारले आज मात्र डा केसीसँग नयाँ सम्झौता गरेको छ । सो सम्झौता चिकित्सा शिक्षा ऐन लागू नभएसम्म कुनै पनि कलेजलाई सम्बन्धन, विस्तारित कार्यक्रम र  नयाँ कार्यक्रम थप नगर्ने भन्ने छ । यो सम्झौता कार्यान्वयन गर्ने मेरो दायित्व हो ।

नेपालको मेडिकल  शिक्षा कस्तो हुनुपर्छ भन्ने तपाईको मान्यता हो ?

नेपालको चिकित्सा शिक्षालाई पूर्ण रुपमा हाम्रो आवश्यकताअनुसार बनाउनुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा हामीसँग भएकै पाठ्यक्रममा पनि धेरै कुरा छ । तर पाठ्यक्रमअनुसारको शिक्षण सिकाइ गतिविधि कम छ ।

पाठ्यक्रम कम्पिटेन्सीबेस हुनुपर्ने हो तर त्यही कुरामा हामी कमजोर छौँ । मेडिकल शिक्षण सिकाइ सिस्टमेटिक, परफर्म बेस र इन्टिग्रेटेड हुनुपर्छ भन्ने मेरो मान्यता हो । ।

चिकित्सा शिक्षामा सातवटा आधारभूत तत्व हुनुपर्छ भन्ने मान्यता छ । जसमा बेसिक साइन्टिफिक नलेज, बिहेबियरल साइएक्टिक एटिच्युड, क्लिनिकल स्किल, कम्युनिकेसन स्किल, पब्लिक हेल्थ साइन्स र क्रिटिकल थिङकिङ चाहिन्छ । यी कुरा भएपछि मात्रै चिकित्सकमा साइन्टिफिक ज्ञान र सीप हुन सक्छ ।

सरकारी तहका विश्वविद्यालयमा फाउन्डेसन कोर्स छ तर पाठ्यक्रम अनुसारको पढाइ छैन । अर्कातिर अहिले पनि धेरै कलेजमा शिक्षण सिकाइ विद्यार्थी केन्द्रित छैन । त्यसका लागि त अघि भनेजस्तै मल्टी प्रोफेसनल र कम्पिटेन्सी बेस शिक्षा चाहिन्छ । सकेसम्म सँगै पढ्न सकिने विषयहरु एकै ठाउँमा राखेर पढाउनुपर्छ ।

पछिल्ला दिनमा आधुनिक तहको चिकित्सा विज्ञानको पढाइमा हेल्थ सिस्टम र एजुकेसन सँगै हुनुपर्छ भन्ने छ । तर हाम्रोमा शिक्षा र सेवाको कुरालाई चाहिँदा मात्रै जोड्ने गरिन्छ । चिकित्सा शिक्षा भनेकै स्वास्थ्य सेवाको आवश्यकतापूरा गर्नका लागि हो र त्यसैका लागि पाठ्यक्रम र पढाइ हुनुपर्छ । अझै भनौँ, जुन देशमा जस्तो चाहिन्छ, त्यही अनुसारको पाठ्यक्रम र पढाइ हुनुपर्छ ।