कुनै रागभन्दा कम छैनन् देउडा भाका

सुरेश शाही देउडा गायक तथा संगीतकार

 हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
– पहिला देउडा धेरै गरें । यतिबेला ‘माइस्कुल’ नामक नयाँ फिल्ममा संगीत र एरेन्ज गरिरहेको छु ।

 गायन बाहेक के गरिरहनुभएको छ ?
–    त्रिचन्द्रबाट समाजशास्त्रमा मास्टर्स गरेको हुनाले बिहान एउटा कलेजमा पढाउँछु, दिउँसो विभिन्न सांगीतिक काम गर्छु ।

 गायन कहिलेदेखि शुरु गर्नुभयो ?
– स्कुल पढ्दाखेरि नै गाउँथें, विभिन्न प्रतियोगितामा भाग लिन्थें, त्यतिबेला ‘सुरेश भएन भने स्कुलले हार्छ’ भन्थे सरहरु पनि । एसएलसी फस्र्ट डिभिजनमा पास गरेपछि परिवारले सांगीतिक लाइनमा बढी लाग्यो भनेर सीएमए पढाए । त्यो परिवारको शोख मात्र थियो । सीएमपछि नेपालगन्जमा इन्टर पढें । कलेजका कार्यक्रममा गीत गाएँ, त्यसपछि काठमाडौंमा एकातिर पढ्दै अर्कोतिर गायन सिक्दै गरें । २०६३ सालमा रेडियो नेपालमा इन्ट्री गरेपछि पहिलो गीत ‘न्याउली रुँदै वन, म रुँदै दुनियाँसामू’ ठाडी भाका रेकर्ड गराएँ, जुन हाम्रो ठाउँमा धेरै मन पराइएको थियो ।

 तपाईंको गीतले कसलाई बढी सम्बोधन गरेजस्तो लाग्छ ?
– अरुले सिर्जना गरेका र आफूले सिर्जना गरेका जति गाएँ, दुर्गमको निम्ति गाएँ । ‘न्याउली रुँदै वन, म रुँदै दुनियाँ सामू’, जुम्ला मेरो स्याउका फाराम, ‘झल्क झल्क झल्क हिमाल’, ‘रारातालको पानी’ आदि र दूरदराजका मान्छेलाई मनोरन्जन दिने हिसाबले देउडा कार्यक्रम ‘भलासुकाली’ पनि निरन्तर चलाएँ ।

 दूर दराजका जनताले तपाईंका सांगीतिक सिर्जना सुन्न पाएजस्तो लाग्छ ?
– म रेडियो नेपालमा हुँदा हुम्ला, जुम्ला, मुगु, बाजुरालगायत थुप्रै जिल्लाबाट फोन आउँथे । सल्लाह, सुझाव, हौसला दिन्थे । तपाइँको फलानो गीत सुन्यौं ‘भलासुकाली’ पनि सुनिरहेका छौं भन्थे ।

 हाल लोकप्रिय कार्यक्रम भलासुकाली बन्द भएको छ । यसको कारणचाहिँ के होला ?
– रेडियो नेपालले देउडा बुझेन अर्थात् आर्थिक व्यवस्थापन गरेन । अझै पनि थुप्रै ठाउँबाट प्रतिक्रिया आइरहेका छन् । जिज्ञासा गरिरहेका छन् । अघिल्लो वर्षको दशैंबाट कार्यक्रम बन्द भएको छ ।

 देउडा गीतको लोकप्रियता छ कि छैन ?
– देउडा आफैंमा शक्तिशाली छ । यसले सुन्ने र बुझ्ने मान्छेको मन लोभ्याउन सक्छ । व्यवसायिक हिसाबमा सानो पहुँच, प्रविधिगत रुपमा पाइरेसीको कारण किनेर सुन्ने चलन हटेकाले सर्जक बाँच्ने बाटो छैन । यसकारण देउडा गीत कम रेडर्क हुने गरेका छन् । अझै पनि सांगीतिक क्षेत्रमा नयाँ प्रविधि आउला र देउडा गीतका सर्जकले लगानी उठाउलान् भन्ने विश्वास छ । त्यो अवस्था आए सबै क्षेत्रलाई च्याप्छ जस्तो लाग्छ मेरो बुझाइमा ।

 त्यस्तो अवस्था आउने सम्भावना कसरी देख्नुहुन्छ ?
– यो राज्यसँग जोडिएको कुरा हो, गीतका लागि आधारभूत खर्च (२०–३० हजार) मात्र सम्भव भए अर्को गीत गर्न सकिन्छ । सधैं अन्य आम्दानीबाट यसमा लगानी गर्न गाह्रो हुन्छ । मैले अहिलेसम्म गीत बेचेबापत १ रुपियाँ पनि पाएको छैन । जति गरें संस्कृतिका लागि गरें, संगीत मात्र होइन बाँच्ने वातावरण पनि हुनुप–यो ।

 देउडा गीतमा आधुनिकीकरणको खाँचो छ कि छैन ?
– सुहाउँदो तरिकाले गर्नुपर्छ, आधुनिकीकरणका नाउँमा जे पायो त्यही घुसाउनु हुँदैन । मध्य र सुदूरपश्चिममा मात्र होइन, सबै नेपालीले बुझ्ने हुनुपर्छ, गाइनुपर्छ । त्यो प्रयास पनि मैले गरेको छु । यसले राम्रै प्रभाव पारेको छ । जसमा शास्त्रीयताका खिट्का पनि घुसाएको छु । लोकगीतको झझल्को पनि आओस् र देउडा भाका नमरोस् भन्ने हो ।

 साझा कलाकारको रुपमा राजनीतिक संस्कारप्रतिको बुझाइ के छ ?
– एकदमै गलत संस्कार मौलाएको छ । त्यो देखादेखि छग“ । राम्रो गर्नेले स्थान पाएको छैन । त्यसमा म पनि पर्छु । धेरैले केही नयाँ गरौं भन्दा पनि त्यो वातावरण छैन, संस्कार त्यति गतिलो छैन । बदलिन जरुरी छ । राजनीतिमा सक्षम मान्छे हुनुपर्छ । व्यक्तिगत स्वार्थभन्दा माथि, संस्कृतिप्रति समर्पित व्यक्ति हुनुपर्छ ।

 सबैभन्दा बढी मनपर्ने आफ्नो गीत ?
– सबै गीत मन पर्छन्, सबैमा उत्तिकै मेहनत गर्छु । तर स्रोताले रुचाएका गीतचाहिँ ‘झल्क झल्क झल्क हिमाल, कर्मभूमि जहा भए नि जन्मभूमि मेरो पश्चिम नेपाल’, ‘कर्णालीमा घुम्न जाने हो’ भन्ने गीत हुन् ।

  देउडा गाएर के पाउनुभयो ?
– पाउन त थुप्रो पाएँजस्तो लाग्छ, भलै आर्थिक हिसाबमा नाफा भएन होला । कालिकोट मान्ममा जन्मेको सुरेश शाही काठमाडौं इन्ट्री गर्दा कसैले चिन्थेन । गीतकै माध्यमबाट चिनजान भयो । सबै ठाउँमा नपुगे पनि फोनको हिसाबमा सबैसँग नजिक भएको छु ।

 गुमाएको कुराचाहिँ ?
– धेरै गुमेका पनि छन्, घरको जेठो छोरो भएकाले परिवारलाई केही गर्न सकेको छैन । गीत संगीतको नसाले त्यतातिर हात हाल्न पाइनँ । जेहोस्, पारिवारिक, आर्थिक कुराहरु गुमेका छन् तर ती सबै सामान्य हुन्छ जस्तो लाग्छ ।

 आर्थिक नोक्सानी हुँदा निराश हुनहुन्न ?
– म गीत रेकर्ड गर्छु, गीत चल्छ, पैसा कति आयो भन्नेपट्टि दिमाग जाँदैन । मेरो गीत धेरैले सुनुन् भनेर रेकर्ड गरेको हुन्छु । यसैमा सन्तुष्ट छु । सबैको चित्त बुझोस्, सबैलाई छोओस् भनेर ।

 गायनभन्दा अर्को क्षेत्र रोज्नुप–यो भने ?
– यस्तो सोचेकै छैन, यसैमा आधार बनाएर अगाडि बढौं भनेर लागिरहेको छु ।

 नवआगन्तुकलाई के सल्लाह दिनुहुन्छ ?
– कुनै रागभन्दा कम छैनन् देउडाभाका । संगीतमा हात हाल्नका लागि सिक्न जरुरी छ, कमसेकम सुर, ताल, लय जान्नुप¥यो । सिकेको मान्छेले १० मिनेटमा सिध्याउने गीत नसिकेको मान्छेलाई घण्टौं लाग्न सक्छ । असाध्यै मीठो स्वर भएका दूरदराजमा थुप्रै छन्, गाउँघरमा जसले अरुको गीत जस्ताको तस्तै गाउन सक्छन् तर अलिकति मोडियो भने गाउन सक्दैनन्, यो नसिक्दाको समस्या हो । पहुँच कम हुँदाहुँदै पनि मेरो तर्फबाट कोही दूरदराजबाट आउँछन् भने सहयोग गर्छु । म आफैंले एरेन्ज गर्छु । गीत कहाँ रेकर्ड गर्ने लगायतका प्रक्रियामा अन्जान हुन्छन्, ठगिन्छन्, यी यावत् कुरामा म सहयोग गर्छु ।

(प्रस्तुति ः संकल्प निर्मोही)