आदिम स्वतन्त्रता

पहल असीम

मृत्यू जितेर फर्किएको
चलनचल्तीको निरंकुश समय
आदिम सभ्यताको जगमा उभिएर
आदिम स्वतन्त्रता खोज्न निस्किरहेछ
सबेरै मुग्लान जान हिँडेको
आधुनिक बटुवा जस्तै

कहाँ छ आदिम स्वतन्त्रता ?
खुला ठाउँमा कि झ्यालखानामा
घरमा छ कि बिद्यालयमा
चोकमा छ कि पसलमा
गाउँमा छ कि शहरमा
स्वदेशमा छ कि विदेशमा !

आफ्नै गतिमा बहने समयलाई
उल्टो घुमाइरहेछ मान्छेको दिमाखले
र अठ्याइरहेछ आदिम स्वतन्त्रता
र पढाईरहेछ नानीलाई नौलो सभ्यता

परिस्थिती निकै फेरिएको छ

जस्तोकि
सबेरै स्याउलाको खोजीमा निस्केकी दिदिको भेटिन्छ केहिदिनपछि रक्ताम्य फरिया
जस्तोकि
क्याम्पस जान हिँडेको युवकले
बुझाएर आउनुपर्छ पर्स मोबाइल घडी
शहरका नामुद भिखारीहरुलाई
जस्तोकि
जोवन साँचेर
लोग्नेलाई खाडी पठाएकी स्वास्नीले
बुझ्नुपर्छ केहीमहिनापछि लोग्नेको लास
र पखाल्नुपर्छ बन्धनको सिउँदो
अझ भनौ
गाउँ बनाउने आश्वासन दिएर
राजधानी हिँडेको ठूलो मान्छे
फर्कन्छ केही बर्षपछि देश बेचेर

अवस्था निकै फेरीएको छ

अचेल आदिम स्वतन्त्रताको खोजीमा
झोलुङ्गो च्यातेर निस्किएको छ बालक
क्षयरोगका बिरामी हजुरबा
लट्ठी बोकेर निस्किएकाछन सडकमा
अस्पतालको इमर्जेन्सी वार्ड छोडेर
खै केके जाती आन्दोलनमा छन डक्टरहरु
किसान धान रोप्न छोडेर
झोक्राइरहन्छ देशको चिन्ताले
हरेक दिन युद्व लड्न हिँडेका सिपाहीझैँ
विमानस्थलमा भेटिन्छ देश छोड्नेहरुको लर्को ।

आदिम कालको जस्तो
आदिम स्वतन्त्रता भेटिन्छकी भनेर
म्याराथुन स्टाईलमा दौडिने क्रममा
आज मैले आफ्नै नाम भेटेँ
भोली आत्महत्या गर्नुपर्नेहरुको सुचीमा ।।