राप्रपालाई प्रचण्डको आग्रह ः टाढा नजानु होला


६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गरेका छन् ।
शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राप्रपा र आफ्नो एजेण्डा धेरै नमिले पनि मिलौं मिलौ लाग्ने गरेको बताए । उनले भने, ‘किन हो सहकार्य गरौं गरौं लाग्छ, टाढा नजानु होला ।’
प्रधानमन्त्री प्रचण्डले संविधान जारी गर्ने बेलामा नै तीन दलले संशोधनको प्रतिवद्धता जनाएको भन्दै त्यसअनुसार नै सरकारले प्रस्ताव ल्याएको बताए ।
प्रधानमन्त्री प्रचण्डले मुलुक लामो संक्रमणकालिन अवस्थाबाट अघि बढीरहेको भन्दै संविधान कार्यान्वयनका लागि निर्वाचनको अपरिहार्यतामा जोड दिए ।

संविधानसभाबाट संविधान जारी हुनु र शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको हैसियतले आफुमा निकै ठूलो जिम्मेवारी रहेको महसुस भएको भन्दै उनले परिपक्व राजनितिक पार्टीको हैसियतले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।