सिरहामा युवकको धारीलो हतियार प्रहार गरी हत्या

सिरहा, जेठ १७– सिरहा नगरपालिका ४ रमौलमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको छ । धारिलो हतियारले टाउकाको पछिल्लो भाग र अनुहारमा प्रहार गरी हत्या गरी फालिएको अवस्थामा लक्ष्मीपुर ३ थलहाका करिव ३३ वर्षीय शत्रुधन यादवको शव फेला परेको हो ।

प्रहरी गस्तीमा रहेको प्रहरी टोलीले विहान पख रमौल गाउँभन्दा दुई सय मिटर पर बाटोमा बाँसझ्याङ नजिक लडेर रहेको शव फेला परेको थियो । टोलिले थप प्रहरी मगाएको थियो ।

यादवलाई टाउकोको पछिल्लो भाग र अनुहारमा धारीलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । हत्या गरिएका यादबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । हत्या कसले र किन हत्या गरेको  भेन्न अझै नखुलेको एसपी कोइरालाले बताए ।

सिरहा नगरपालिका ६ मा यादवको ससुराली छ । उनका दुई श्रीमती छन् ।  श्रीमतीसँगको विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । प्रहरीले अनुसन्धानको लागि कान्छी श्रीमती र सालोलाई नियन्त्रणमा लिएको जनाएपनि थप अनुसन्धन जारी  रहेको जनाएको छ ।