भरतपुर महानगरपालिकामा फेरि मतदान नहुने, च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन आयोगको निर्देशन

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान नहुने भएको छ । भरतपुरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवाद भएको थियो । विवाद पछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनपछि आयोगले गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्णय गरेको छ ।

विवादपछि गठिन समितिले बुधबार आयोगले आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदन बुझेपछि निर्वाचन अयोगले यस्तो निर्देशन दिएको हो ।

‘‘गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने ।” भनी अयोगले निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति मार्फत जनाएका छन् ।