पहिलो महिला मेयर भन्छिन्- मैले हाजिर गर्ने नगरपालिकाको कार्यालय नै छैन

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएको तीन दिनपछि पनि उनको निवासमा बधाई दिन आउने आगन्तुकलाई धन्यवाद फर्काउन कान्तिका सेजुवाललाई भ्याइनभ्याई थियो।

उनी धेरै दिनदेखि सुतेकी छैनन् भन्ने जवाफ उनका आँखा र अनुहारले दिन्थ्यो। अनुहार पूरै अबिरले पोतिएको थियो। जितको खुसियालीमा भोज खुवाउन प्रयोग गरिएका भाँडाकुँडा घर अगाडिको बारीमा असरल्ल थिए। भेट्न आउने बढी महिलालाई उनी चुनाव अगाडिकै कुरा दोहोर्याइरहेकी थिइन्। ‘जागिर लगाइदेऊ, यसो गरिदेऊ, उसो गरिदेऊ भनेर धेरै दबाब नदिया, काम गर्न सजिलो छैन,’ उनले भनिन्।

नोकियाको पुरानो मोबाइल सेटमा छिनछिनमा बजिरहने फोनमा बधाई दिनेलाई बसेको स्वरमा उनले लगातार यही कुरा दोहोर्याइरहेकी थिइन्।

‘मैले जित्यापछि सब कुरा पुगिगो नसोच्या, काम गर्न यति सजिलो छैन।’

पूर्वाधारबिना नगरपालिका घोषणा गरिएका नेपालका धेरै नगरपालिकामध्ये जुम्लाको चन्दननाथ नगरपालिका पनि एक हो। सेजुवालले भनेजस्तै नगरपालिकामा मतदाताले सोचेजस्तो विकास गरिहाल्न सहज छैन। नगरपालिकाका लागि चाहिने सामान्य पूर्वाधारबिना नगरपालिका घोषणा गरिएको विषय सेजुवाललाई त्यो बेला नै मन परेको थिएन।

‘हामीले उसबेला नगरपालिका बन्नेबित्तिकै विकास भैहाल्ने होइन भन्दा मेरै उछित्तो काटे,’ सेजवालले चुनावताका पनि यही भन्दै हिँडेकी थिइन्, ‘भोट माग्न जाने सबैले २ वर्ष र ५ वर्षमा चन्दनाथ नगरपालिकाको कायापलट गर्छु भने। मैले मतदातालाई उल्टो ‘काम गर्न सजिलो छैन धेरै आस नगरे’ भनेर हिँडेँ। सबैले मेरो यही इमानदारीलाई विश्वास गरे।’

नेपालमै पहिलो महिला मेयरका रूपमा निर्वाचित कान्तिका सेजुवाल यस्ती उम्मेदवार हुन् जसले जिल्लाबाट नामावली पठाउने बेलादेखि नै सकस बेहोरिन्। ‘महिला भएकै कारण मेयरको नामावली पठाउने बेलादेखि सकस बेहोरेँ। जिल्लामा हामी आफैं दुई खेमामा बाँडियौं। विरोध र सर्मथनले जिल्लामा पार्टीभित्रै आगो बल्यो,’ उनले भनिन्।

जुम्लामा कांग्रेस दुई समूहमा बाँडियो। एउटा समूह महिलालाई मेयरका रूपमा उठाउनै चाहँदैन थियो। महिलाले नगरपालिका हाँक्न सक्दैनन् भन्ने यो बहसलाई उनी चिर्न चाहन्थिन्। ‘हामी महिलाले नसक्ने हो भने पुरुषले पनि काम गर्न सक्दैनन्,’ कान्तिकाको भनाइ छ।

अर्को समूह कान्तिकाका पति मानव सेजवालले पार्टीमा गरेको लगानी र उनी स्वंयले सामाजिक सेवामा गरेको लगानीलाई मेयरको पदसँग जोड्न चाहन्थ्यो। ‘माओवादीले उपमेयरमा महिलालाई नै उठाएपछि विरोधमा उफ्रिरहेका साथीहरू हच्किए,’ उनले भनिन्।

दुई दशकदेखि आफूले जिल्लाकै एक नम्बरको स्थानमा पुर्याएको कर्णाली सामुदायिक स्कुलबाट राजीनामा गर्ने बेला आँखाभरि आँसु बनाएपछि कान्तिकालाई माया गर्नेहरूले चित्त दुखाए– यति राम्रो स्थायी जागिर छाडेर के राजनीति गर्न हिँडेकी।

कान्तिका भन्छिन्, ‘सायद अब उनीहरूले बुझे होलान्। स्कुल मात्र राम्रो भएर हुन्छ? यो नगर राम्रो हुनु पर्दैन? यो नगर विकसित हुनु पर्दैन?’

मेयरको मतगणना हुँदै गर्दा जितिन्छ भन्ने हल्ला उनको कानमा जति बढी ठोकिँदै गयो त्यत्ति उनी दुःखी हुँदै गइन्।

‘उ त्यो कर्णाली विज्ञान प्रतिष्ठान नजिकै मानव (पति) को सालिक बनाइएको छ,’ घरदेखि सय मिटर दक्षिणतर्फ रहेको सालिकतर्फ देखाउँदै कान्तिकाले भनिन्, ‘विजयी घोषणा भएको रातभर म सुत्न सकिनँ। मध्यराति म त्यहीँ पुगेर रोएँ।’

किन?

‘जितेकोमा हर्ष कम र विस्मात बढी भयो। दुःख त एक्लै पनि सहन सकिन्छ तर खुसी बाँड्न आफ्नो मान्छे चाहिने रैछ।’

श्रीमानलाई सम्झेर उनी एकछिन भावुक भइन्।

मानव सेजुवाल जुम्लामा इमानदार राजनीतिलाई स्थापित गराउन सक्रिय थिए। काठमाडौंबाट जुम्ला जाने क्रममा नेपाल वायुसेवाको विमान दुर्घटनामा उनको मृत्यु भयो। ‘जितेपछि मानवलाई सम्झेर धेरै रोएँ। सुख कम र दुःख ज्यादा भयो,’ कान्तिकाले थपिन्, ‘यी भेट्न आउने सबैले यसो गर्न पर्यो र उसो गर्न पर्यो भन्न थालिसके। गएर हाजिर गर्ने नगरपालिकाको कार्यालय छैन। खुसी हुने ठाउँ कहाँनेर छ?’

भौतिक पूर्वाधारसमेत नभएको ठाउँलाई हतारमा नगरपालिका घोषणा गरिएको थियो। ‘चुनावमा जाँदा कार्ययोजना लगेरै जान पर्ने भएका कारण मैले पनि ५ वर्षे र २० वर्षे कार्य योजना अगाडि ल्याएँ। तर हामी सबैले भनेजस्तो नगरपालिकामा विकास बाँडिहाल्न यति सजिलो छैन,’ कान्तिकाले भनिन्।

नगरपालिकाभन्दा बाहिरका गाउँपालिकामा १८ घन्टासम्म बिजुली आउँछ। नगरपालिकामा ८ घन्टा पनि राम्रोसँग उज्यालो बाँड्न सकिएको छैन। मापदण्डविपरित गठन गरिएको नगरपालिकाका ४ वटा वडामा गाडी चल्दैन। ‘भोट दिनेले भोलिदेखि ती वडामा गाडी चलाउनपर्छ भन्ने जस्ता कुरा गर्न थालिसके,’ अनुभवबिनाको पहिलो कार्यकाल भएका कारण मतदाताले सोचेजस्तो सबै विकास रातारात गर्न नसकिने बताउँछिन् कान्तिका ।