भारत र चीनद्वारा देउवालाई बधाई

काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मङ्गलबार टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नुभएको थियो ।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देश बीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यसैगरी नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा चीनले बधाई दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ मङ्गलबार देउवाको निजी निवास बूढानीलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनियाँ सरकारका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गर्नुभयो ।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।