चुडामणि शर्मालाई पुनः ६ दिनको म्याद थप

विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पुनः ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै विशेष अदालतले शुक्रबार पुनः ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो।

अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न म्याद थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समय माग गर्दै निवेदन दिएको थियो।

रजिष्ट्रार श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमै अनुसन्धानको प्रकृति र जटिलतालाई ध्यान दिएर ६ महिनासम्म थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको पनि स्पष्ट पारे।

न्यायाधीशद्वय मोहनरमण भट्राई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शर्मालाई गत आईतबार पनि थुनामा राख्न ७ दिनको म्याद दिएको थियो।

म्याद थपपछि सुरक्षा घेरा भित्रैबाट विभागका निलम्बित महानिर्देशक शर्माले विघटन भईसकेको कर फर्छ्यौट आयोगको काम कार्वाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार आयोगलाई नरहेको दावी गरे। उनले आयोगले सरकार, संसद र प्रचलित विधि, प्रक्रिया विपरित बलजफ्ती र बदनियतपूर्ण ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै न्यायको पक्षमा बोलिदिन सबैमा आग्रह पनि गरे।

कर फर्छ्यौट आयोगको म्याद २०७२ साल असोजबाटै सकिएको थियो । कर फर्छ्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।