दार्जिलिङमा भड्किदै हिंसा, एक जनाको मृत्यु

गोरखा जनमुक्ति मोर्चा र सुरक्षा बलबीच भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको छ। उनको परिचय खुलेको छैन। मृतकलाई आर्मी अस्पतालमा राखिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

झडपमा इन्डियन रिजर्भ बटालियनका एक असिस्टेन्ट कमान्डर किरण तामाङ गम्भीर घाइते भएका छन् । थप ३५ पुलिस जवान पनि घाइते भएको दार्जिलिङ टाइम्सले जनाएको छ। पश्चिम बंगालका एसपी अनुश शर्माले बिबिसीलाई बताएअनुसार तामाङलाई सिलिगुढीको अस्पतालमा भर्ना गरिएको छ । प्रदर्शनकारीको आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको शर्माले बताए ।

प्रहरीले चलाएको अश्रुग्यास र लाठीचार्जका कारण मोर्चा समर्थकहरु दर्जनौं संख्यामा घाइते भएका छन् ।

शर्माका अनुसार प्रदर्शनकारीले प्रहरीका दुईवटा गाडीमा आगो लगाइदिएका छन्। झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको र सात जनालाई गिरफ्तार गरिएको पनि उनले बताए ।

मोर्चाका सहसचिव विनय तामाङले भने प्रहरीले सिंमारीमा शान्ति मार्च गरिरहेका कार्यकर्तामाथि गोली चलाएको बताएका छन् । उनका अनुसार मोर्चाका दुई जना कार्यकर्ताको मृत्यु भएको छ ।

गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको पातलेवासस्थित निवास र कार्यालयमा प्रहरीले छापा मारेपछि दार्जिलिङमा पछिल्लो हिंसा भड्किएको हो ।

प्रहरीको छापाको विरोध गर्दै शनिबार मोर्चा समर्थकले दार्जिलिङका विभिन्न स्थानबाट ‘डेस्टिनेसन पातलेवास’ नामक मार्च निकालेका थिए । मार्चका क्रममा उनीहरुले सिलिगुढीबाट दार्जिलिङ आउने बाटो बन्द गरिदिएका थिए। पातलेवास हिँडेको मार्च रोक्न प्रहरीले प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो ।

दार्जिलिङमा हिंसा भड्किएपछि सेना परिचालन गरिएको छ। खर्साङ र कालिङपोङमा पनि सेना तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । अलग्गै राज्य गोर्खाल्याण्डका लागि यसपालिको आन्दोलन निर्णायक हुने गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङले बताएका छन् ।

मोर्चाले सोमबारदेखि दार्जिलिङ र कालिङपोङ जिल्ला लगायत आसपासका क्षेत्रमा अनिश्चित आमहड्ताल आह्वान गरेको छ ।