सामाजिक उपन्यास ‘धर्मकन्या’ ल्याइन् मुगुकी रविनाले

मुगुकाे पहिलो सामाजिक उपन्यास ‘धर्मकन्या’ वीमाेचन कार्यक्रम

काठमाडौं । मुगुकी रविना रोकायाको पहिलो उपन्यास राजधानीमा विमोचन भएको छ । कर्णालीको मुगुकी रविना रोकायाको पहिलो सामाजिक उपन्यास ‘धर्मकन्या’ शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सिँचाई मन्त्री सञ्जय गौतम र वरिष्ठ चिकित्सक एवम् गीतकार डा. भोला रिजालले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

मुगुकाे पहिलो सामाजिक उपन्यास ‘धर्मकन्या’

पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री गौतमले विकट भएर पनि संसारकै प्रसिद्ध र सुन्दर रारातालले सुशोभित मुगुजस्तो भूमिबाट रविनाले सुन्दर कृति लेखेकोमा प्रशंसा गर्नुभयाे । उहाँले कवि तथा साहित्यकारहरूले साहित्यका माध्यमबाट आफ्नो थातथलोलाई चिनाउन विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनुभयाे ।

 

कार्यक्रममा वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले आफूले मुगुमा पुगेर स्वास्थ्य शिविर चलाएको स्मरण गर्दै त्यहाँको भूगोलबाट आएकी रविनाजस्ती साहित्यकारको कृति विमोचनमा सहभागी हुन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताउनुभयाे । उहाँले उपन्यासकार रविनालाई बधाई दिँदै आगामी दिनमा पनि मुगुको प्रकृति, संंस्कृति र जनजीवनलाई विषय बनाएर उपन्यास लेख्न सुझाव दिनु भयाे । कार्यक्रम संयोजक प्राज्ञ एवम् कवि वियोगी बुढाथोकीले शिवपुरी साहित्य समाज र शिवपुरी साहित्यिक पत्रिकाले विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई बर्षेनी सम्मान गर्नुका साथै स्रष्टाका पुस्तक प्रकाशन र विमोचनजस्ता कार्यक्रमहरूको आयोजना गर्ने गरेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘आज मुगुकी स्रष्टाको कृति विमोचन कार्यक्रमको आयोजन गर्न पाउँदा हर्ष लागेको छ ।’

 

युवा उपन्यासकार रविना रोकायाले कार्यक्रममा सामाजिक उपन्यास ‘धर्मकन्या’ लेखनका विभिन्न अनुभव बताउनुभएको थियो । उक्त पुस्तक विमोचन कार्यक्रममा साहित्यकार शंकर भारती, शशी थापा पण्डित, रणबहादुर सेजुवाल, नेपाली कांग्रेसका नेता हस्तबहादुर मल्ल र खड्गबहादुर शाहीलगायतले कृतिबारे बोल्नु भएको थियो ।
पुस्तक विमोचन कार्यक्रममा दुर्गम मुगुबाट समेत उल्लेख्य उपस्थिति रहेको थियो ।