नगरपालिकामा कविराज, गाउँपालिकामा वैद्य

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सेवा प्रवाहमा असर नपर्ने गरी तीन दिनभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउन मातहतको बिभाग र कार्यालयहरुलाई निर्देशन दिएको छ । यसरी कर्मचारी खटाउँदा आयुर्वेदका एक कर्मचारी अनिवार्यरुपमा हुनुपर्नेछ ।

मन्त्रालयले जिल्ला स्वास्थ्य, जनस्वास्थ्य कार्यालय र आयुर्वेद विभागलाई परिपत्र गर्दै सम्बन्धित जिल्ला भित्रका स्थानीय तहमा पदाधिकार रहेकै कार्यालयबाट तलबभत्ता खाने गरी स्थानीय तहको परिषद अगावै काजमा खटाउन निर्देशन दिएको हो ।

गाउँपालिकामा सम्भव भएसम्म ७ र ६ तहको कर्मचारी दुई जना, नगरपालिकामा ८ र ७ र ६ तहको कर्मचारीसहित तीन जना र उपमहानगरपालिकामा जिल्लाभित्र उपलब्ध भएमा ९ र ८ र ७ तहका चार जना खटाउनुपर्ने छ ।

यसरी कर्मचारी खटाउँदा आयुर्वेद तर्फको एकजना कर्मचारी अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ । नगरपालिकामा कम्तिका एकजना कविराज भएसम्म ७ र ६ र ५ तह र गाउँपालिकामा वैद्य ६ र ५ तहको खटाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

मन्त्रालयको निर्देशनअनुसार महानगरपालिकामा १० औं तहका कर्मचारीको नेतृत्वमा कर्मचारी खटाइसकिएको छ । काठमाडौं महानगरपालिकामा ४ जना, ललितपुरमा ३ जना, भरतपुर र पोखरामा २(२ जना तथा विराटनगर र वीरगञ्जमा १, १ जना कर्मचारी खटाइसकिएको छ ।

स्वास्थ्य मन्त्रालयले केन्द्रीय स्तरबाट झण्डै २५ सय कर्मचारी खटाउन लागेको कर्मचारी प्रशासनका उपसचिव बाबुराम खनालले जानकारी दिए ।

‘यही असार २५ बस्ने भनिएको परिषद बैठकमा स्वास्थ्यका के(के कार्यक्रम समावेश गर्ने, कसरी काम गर्ने, कस्ता(कस्ता कार्यक्रम राख्ने भन्ने तय गर्नुपर्ने हुन्छ । त्यसको लागि पनि मन्त्रालयले कर्मचारी खटाउने तयारी गरेको हो,’ उनले भने ।

स्थानीय तहमा खटाइएका कर्मचारीहरुले जनप्रतिनिधि मातहत रहेर काम गर्नेछन् । स्वास्थ्य मन्त्रालयले स्थानीय संरचना अन्तर्गत गाउँपालिका तथा नगरपालिकामा कर्मचारी खटाउनकै लागि यस आर्थिक वर्षमा जम्मा १४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

चिकित्सक र ल्याब टेक्निसियनलाई नपठाउन आग्रह

यही असार २५ गते बस्ने भनिएको परिषद बैठकमा नपठाउन स्वास्थ्य मन्त्रालयले चिकित्सक, प्यारामेडिक्स, ल्याब टेक्निसियन, रेडियोग्राफर लगायतलाई निर्देशन समेत दिएको छ ।

‘चिकित्सा क्षेत्रमा कार्यरत जनशक्तिलाई पठाउँदा अत्यावश्यकीय सेवा अवरुद्ध हुन सक्ने भएकाले उनीहरुलाई नपठाउन निर्देशन दिएका हौं,’ उपसचिव खनालले भने ।