काठमाडौंसँग विद्रोह गर्न नसकेको कर्णाली

शिव गाउँले पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

ताल्चा बिमानस्थलबाट करिव ३ घण्टाको पैदल यात्रापछि रारा ताल पुगिन्छ । २० को दशकमै त्यो ठाउँको सुन्दरता अवलोकन गर्न राजा महेन्द्र, योजनाविद् डा. हर्क गुरुङहरु पुगिसकेका थिए । शब्दले मात्रै यसको वर्णन गर्न सकिदैन । साँच्चिकै सुन्दर छ रारा ।

जनजीवनसँग जोडिएन भने सुन्दर प्राकृतिक छटाको लाभ स्थानीयलाई ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै हुने रहेछ । रारा जति सुन्दर छ मुगुवासीको जीवनको हाँसो त्यति सुन्दर छैन । गैर सरकारी संस्था कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा मुगुको रारातालमा जलवायु परिवर्तन र स्थानीय जनजीवनमा त्यसको असर विषयक सम्मेलनको आयोजना ग¥यो । उक्त सम्मेलनमा म पनि सहभागि हुने अवसर पाएको थिएँ ।

कर्णाली अञ्चलको मुगु जिल्ला सिंहदरवारबाट हरेक तवरले टाढा भएकाले धेरै कुरामा पछाडी पारिएको भान भयो । मुगु सभ्यताको श्रोत हो । खासगरी खस संस्कृतिको उद्गम स्थल हो मुगु । त्यति हुँदाहुँदै पनि मानव विकास सुचकांकमा मुगु निक्कै पछाडी छ । त्यस्तो नुहुनुपथ्र्यो भन्ने लाग्यो, त्यहाँ पुग्दा । खासगरी रारा र त्यस आसपासमा आय बढाउन सक्ने पर्याप्त श्रोत हुँदाहुँदै पनि त्यहाँको गरिबी र पछौटेपन एकदमै टिठलाग्दो थियो ।

राराको सुन्दरताले त्यो पछौटेपनलाई ढपक्कै छोपेको थियो । त्यहाँका स्वास्थ्य चौकी र रारा आसपासका गाउँका साधन श्रोत हेर्दा त्यति गरिबी नुहुनुपर्ने भनेजस्तो अनुभूती भयो । त्यहाँ खानलाई कोदो, आलु, काउली र सागजस्ता खानेकुराहरु राम्ररी उत्पादन हुनसक्ने अवस्था रहेछ । कर्णालीका अन्यत्र जस्तै त्यहाँ पनि चामलको भात खाएपछि मात्रै सम्पन्न भइने भन्ने मान्यता रहेछ । अथवा खाद्यान्न भनेपछि चामल बुझ्नुपर्ने प्रवृति मुगुमा पनि रहेछ । तर स्थानीय खाद्यान्नको महत्व त्यहाँका स्थानीयले बुझ्न सकेका थिएनन् । केन्द्रबाट त्यहाँ पुगेका प्रहरी, सेना लगायतका कर्मचारीहरुको प्रभावले त्यहाँका मानिसमा त्यस्तो भावना विकास भएको रहेछ ।

त्यहाँ जानेहरुले फर्कदा ताल्चा विमानस्थलबाट स्याउ, गुराँसको जुस र चुकअमिलो किन्न हारालुस हुन्छ । त्यस्तो ठाउँ गरिब नभएको भए हुन्थ्यो । यो देख्दा मैले कर्णालीले काठमाडौंसँग विद्रोह गर्न नसकिरहेको अनुभूत गरें । विद्रोह पनि कसरी गर्नु किनकी उनीहरुसँग चक्काजाम गर्न सडक छैन । उनीहरुले ब्ल्याक आउट गर्थे होलान तर उनीहरुसँग बत्ति नै छैन । नेपालको चलचल्तिको भाषामा विद्रोह गर्ने तौरतरीकाको साधन पनि उनीहरुसँग छैन । संभवत त्यसैले विद्रोह भएन ।

त्यो आर्थिक विपन्नता र साधन श्रोतलाई हाम्रो राज्यले किन जोड्न सकेन ? एउटा पत्रकारको आँखाले हेर्दा त्यहाँ केही नमिलेको छ । त्यो नमिलेको विभेद र उपेक्षा हो ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनले कर्णालीको विकासको निम्ति एउटा एकीकृत योजना बन्नुपर्छ भन्ने निचोड निकालेको छ । मुगुमा ४० हजार हाराहारी जनसंख्या रहेको छ । राज्यबाट जाने बजेट हरेक गाविस र सम्बन्धीत सरकारी कार्यालयमा पुगेका छन् । तर ति सवै बजेटको अंक जोड्दा ४० हजार जनतालाई प्रतिव्यक्ति कति नगद पर्छ भनेर निकाल्न सकिन्छ तर उपलब्धी शुन्य । यस्तो स्वर्ग जस्तोे ठाउँ छ तर त्यहीँका मानिसहरुकै भाषामा ‘कालापहाड भाषिनु’ को विकल्प छैन ।