समृद्धिको मार्ग ः सेति कैलास सडक

टिकापुर, साँफेबगर, चैनपुर, उरै भन्ज्याङ भएर ताक्लाकोट–कैलास जाने मोटरबाटो सुदूरपश्चिमवासीको भाग्य रेखा हो

विष्णु प्रसाद खत्री,   पूर्वसचिव, नेपाल सरकार

यो लोकमार्ग टिकापुर, साँफेबगर, चैनपुर, उरै भन्ज्याङ भएर ताक्लाकोट–कैलास जाने मोटरबाटो सुदूरपश्चिमवासीको भाग्य रेखा हो । कैलास तिर्थ यात्रा गर्ने र चिन–तिब्बतसंग व्यापार कारोबार गर्ने परम्परागत अंसुवर्माकाल देखि कै यो मूल पारवहन हो । तेह्रौं शताब्दीतिर कैलास तिर्थ यात्री समैची भन्ने नागा बाबाले बझाङ्गी सुनिकोटका स्थानिय रजवार सारीबम्मको सहयोगले भोट जाने छोटो बाटो कटाई नयाँ पारवहन नाका खोलेर मानसरोवर स्नान गरी कैलास दर्शन गरेर नागा बाबाले सिद्धि प्राप्त गरी देव स्वरुप भए । यीनलाई यद्यपी यस क्षेत्रको रक्षक मानी तिब्बतियन र नेपालीहरुले लागा देवता भनि सुद्ध निष्ठा भई पुजा गर्छन् ।


यो बाटोबाट उन, नुन, सुन देखि खाद्यान्न जडीबुटीको व्यापार चलिरहन्छ । चिन विद्रोही वाङ्दे खम्पा काण्डका कारण यो नाका झण्डै ३० बर्ष बन्द रह्यो । त्यो बन्दको मार दुवैतिरका स्थानियवासीले सहनुप¥यो । यो राजमार्ग चालु भएपछि यातायात, जलविद्युत्, पर्यटन, उद्योग, जडिबुटी लगायत व्यापारका अनेकौं क्षेत्रमा हलचल मचाई आर्थिक क्रान्तिको श्रोत जगाई आय आर्जनको मूल फुट्नेछ । युगौंदेखि पिछडीएको यो क्षेत्रमा विकास र प्रगतिको लहर छाउनेछ । असंख्य विकासका मुहान प्रवाहित भई आयआर्जनमा मार्गप्रसस्त हुने अपेक्षा गरिएको छ ।
यो राजमार्गको अनुपम महत्वलाई दृष्टिगत गरि नेपाल सरकारले पाँचौं पञ्चबर्षिय योजनामा प्रथम पटक प्रस्ताव गरेको थियो । तदनुसार नै बझाङको चौंतिसौं जिल्ला सभा परिषद्ले “सेति कैलाश सडक’’ नामांकन गरि कामको लागि खाद्यान्न आयोजना अन्तर्गत चैनपुर देखि तिब्बत सिमाना उरै भन्ज्याङसम्म जनश्रमदानद्वारा सडक निर्माण गर्नै निर्णय लिई अभियान चलाई खण्ड–खण्ड गरि बाटो खन्न सुरु गरेको थियो । यस कदमको उच्च मूल्यांकन गर्दै माओवादी सरकारको नेतृत्वकालमा उत्तर चिन उरै भन्ज्याङ देखि दक्षिण टिकापुरसम्म भारत छिचोल्ने सेति लोकमार्ग निर्माण गर्ने निर्णय भई विस्तृत सर्भेका लागि २ करोड निकासा भएको थियो । त्यसपछि थोरवहुत हरेक साल निकासा भैरहेको छ तर नेतृत्वको प्रबल इच्छा शक्तिको अभाव तथा प्रखर व्यवस्थापनको कमजोरी र बजेटको विनियोजनमा आज ७ बर्षसम्म पनि यसको ट्रेक लाइनसम्म छिचोल्न सकेको छैन । सरकारको देखाउने दाँत जस्तै भएको छैन, केवल हात्तिको देखाउने दाँत जस्तै भएको छ । प्रगति छैन ।
केन्द्रको परम्परागत उपनिवेशवादी प्रवृत्तिले सुदूूरपश्चिम क्षेत्र हरेक हिसाबले पिछडिएको छ । यस क्षेत्रमा देशको कूल भूूभागको १३.८ प्रतिसत भूूभाग ओगटेको छ तर मध्यमाञ्चलमा कूल बजेटको १३ प्रतिसत छ भने यो क्षेत्रमा ६ प्रतिसत मात्र छ । हाम्रो नारा समानुुपातिक छ तर विकास बजेट कहिल्यै समानुपातिक भएन । ४९ प्रतिसत जनता गरिबप्को रेखामुनि छन् । खासै उद्योग कलकारखाना छैनन्, बेरोजगारी बढ्दो छ । यसरी नै यो क्षेत्र उपेक्षित भई पिछडिनु परेको छ ।
सेति लोकमार्गको सर्भे अनुसार वैकल्पिक ३ ओटा एलान्मेन्ट सहितको सर्भे भएको छ । यो सडकको पछिल्लो छोटो सर्भे अनुसार यसको लम्वाई २८५ कि.मि. छ । यसको निर्माण कार्य सहज होस् भनेर साँफेबगरलाई केन्द्रविन्दु बनाएर उत्तर–दक्षिण दुुई खण्ड गरि निर्माण कार्य भैरहेको छ ।

१) सेति लोकमार्गको पहिलो खण्ड ः यो लोकमार्ग साँफेबगर देखि दक्षिण टिकापुरसम्मको १२५ कि.मि. छ । यो खण्डमा ग्राभिल कार्य पूरा भई कालोपत्रे गर्नका लागि यो आर्थिक बर्षमा बजेट विनियोजन भएको छ । टिकापुरको नजिक भारतिय मुर्तिया रेलस्टेशन छ । यस्तै साँफे सडक कार्यालयले उत्तर बझाङ तिरको सडक ठाँटीबाट खप्तड गा.वि.स. हुँदै लामागडा, पाटा गाउँ, कालुखेतिसम्म ट्रेक खाल्ने काम गरिरहेको छ । यसपाली सेति नदि तमेलसम्म बनाउने कार्ययोजना छ । सेति नदिको तमेलमा पक्की पूल नभएर आवतजावतमा समस्या भएको छ । यो लोकमार्गलाई महामहिम चिनियाँ राष्ट्रपतिले चासो देखाउनु भएकोले यस मार्गलाई साउथ एसियन लोकमार्गको रुपमा विकास गर्न हाम्रो प्रयास भएमा सम्भावना छ ।

२) सेति लोकमार्ग (उत्तर) दोश्रो खण्ड ः यो लोकमार्ग साँफेबगर उत्तर तिरको सडक अछामको ठाँटीबाट खप्तड गाविस हुँदै बझाङको साइपाल गाउँ हुँदै उरै भन्ज्याङ–तिब्बत नाकासम्म पुुग्छ । चैनपुर खोड्पे, झुलाघाट र चैनपुर, खोड्पे, अत्तरिया, महेन्द्रनगरबाट भारत दिल्ली, मुम्वई, बेंलोर, नैनिताल, देहरादुनसंग सडक तथा रेल–वे सडक जोडिएका छन् । यहाँ ठूल्ठूूलो औद्योगिक कारोबारको गुञ्जायस् छ ।
बेडुपाटा, लामागडा, पाटागाउँ कालुुखेति हुँदै सैनगाउँ, धुलीगाउँ, पिपलटार, दहचौर, चौरापानी खोला, धौला, डाँडा, गराफुओडार, साइपाल गाउँ उरै भन्ज्याङ ५२०७ मिटर उचाइमा यो सडक १६३ं.५ किलोमिटर लामो सडकखण्ड नेपालभित्र पर्छ । भने कैलाश मानसरोवर जान खोजरनाथ, ताक्लाकोट, राक्षसतालको दायाँ किनार हुँदै मानसरोवर स्नान गरेर कैलाशको वेशीबजार धारछिन पुगेर कैलाश दायाँ पारेर परिक्रमा गर्दै डोर्पा भन्ज्याङमा पुजा गरेर तल गौरीकुण्ड स्नान गरि २ दिनमा कैलाश परिक्रमा पूरा गर्दै मानसरोवरमा पूर्ण स्नान गरि धारछिनबाट सवारी साधन लिएर ताक्लाकोट मण्डी पुगिन्छ । यो पश्चिम तिब्बतको ठूलो मण्डी हो यसलाई लासा रेल तथा सडक मार्गले पूर्बिय चिनको विशाल शहरसंग जोडेको छ । यो राजमार्गको पूर्वोत्तर चैनपूरदेखि माथिको हिस्सा धमेनागाउँसम्म झण्डै २५ कि.मी. सडक विश्व वैंकको सहयोगले बन्दै थियो तर दलगत खिचातानीले काम गरिरहेको निकाय ड्रिलिपले हात झिकेको थियो । हाल डिभिजन सडक कार्यालयबाट किरकिट्टेसम्म झण्डै ११ कि.मी. सडक ट्रेक खोली सकेको छ । यहाँबाट रामकोटसम्म झण्डै ८ कि.मी. सडक खन्ने काम अगाडी बढिरहेको छ । सेति लोकमार्गको आजसम्मको प्रगति समिक्षा यहि नै हो तर यस क्षेत्रको दु्रत विकासको लागि निम्न आत्यावश्यक प्रस्तावित योजनाहरु प्रस्तुत गरेको छु । यसको कार्यान्वयनको निम्ति प्रबल इच्छा शक्ति राखि ठोस पहलकदमीको निम्ति सम्बन्धित सबैमा आग्रह छ ।
पारवहन नाका मण्डी खाल्ने पूर्वाधारहरु
– यहाँको उपयुक्त मैदानी भूभागको छनोट गर्ने । साविक बझाङ्गी राज्यकालमा पनि सैपाल र गराफु व्यापार मण्डीको रुपमा प्रयोग भैरहन्थ्यो ।
– सुरक्षाको रेकि गरि शसस्त्र सिमा सुरक्षा बलको व्यवस्था गर्ने ।
– नेपाली सेनाको सैनिक सुरक्षाको व्यवस्था गर्ने ।
– वित्त विनिमय तथा नगदी कारोबारको निम्ति सटही काउन्टर देखि बैंकहरु खोल्ने व्यवस्था गर्ने ।
– निकासी पैठारीमा राजस्व असुली गर्न भन्सार कार्यालयको स्थापना गर्ने ।
– दुबै देशवासीले एक अर्को देशमा सहन आवत–जावत, बाणिज्य कारोबार एवम् मित्रताको सु–सम्बन्ध कायम राख्न नेपाल–चिनको मुख्य दौत्य सम्बन्धको आधारमा दुबै देशको स्थानियहरुलाई विशेष परिचय पत्र उपलब्ध गराई भिषा, पासपोर्टसमेतको अध्यागमनको व्यवस्था मिलाउन अध्यागमन कार्यालयको स्थापना गर्ने । चिनियाँहरुलाई चिनविरोधी तत्वहरुको घुसपैठ भैहाल्छकी भन्ने आसंका मेटाउन तत्सम्बन्धी निगरानीको निम्ति नियमित सुराकी दलको व्यवस्था गर्ने आदी ।
हवाई सेवाको व्यवस्था
हिन्दु तथा बौद्धमार्गीहरुको आस्थाको केन्द्र देवादीदेव महादेव, कैलाशको दर्शन गर्न र मानसरोवरमा स्नान गर्न सन्तमहन्त धर्माधीकारी, बुद्धिजीवी, आस्थावान् व्यक्तिहरु तिर्थ यात्रा गर्न लालायित हुन्छ् तर यहाँको विकटता हेरि लाचार हुनुको बाध्यता छ । पर्यटकिय नाताले कैलाश यात्राका लागि साह्रै छोटो भएकाले प्राचिन कालदेखि साधु, सन्तहरु यसै भेगका खप्तड, वैजनाथ, बडिमालिका, सुर्मा सरोवर, मालिकार्जुन, छायाँक्षेत्र, पञ्चकोशी आदी अनेकौं तिर्थ स्थलहरुको तिर्थ यात्रा गर्ने गरेको कुरा स्कन्द पुराण मानसखण्ड आर्य पुराण समेतका अनेकौं पुराणहरुमा प्रसस्त वर्णन छ । तिर्थ यात्री तथा पर्यटनबाट दुवै देशको आम्दानीको श्रोत पनि बढ्ने भएकाले यस्ता तिर्थ यात्रीहरुको लागि चैनपुर देखि साइपाल उरै भन्ज्याङसम्म उपयुक्त ठाउँमा हेलिप्याड बनाई विमान सेवा सञ्चालन गर्ने अनुमति पत्रको व्यवस्था हुन जरुरी छ ।यस क्षेत्रको विकासले सिंगो नेपाललाई राष्ट्र उभो लाग्ने यसलाई कार्यायान्वयन ठोस निति निर्धारण गरि निर्णय लागु गर्न सबै चेतनशिल वर्गमा अनुरोध छ ।