१५ वर्षपछि जन्मकैदको फैसला

रानीबारी हत्याकाण्ड

जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई १५ वर्षपछि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक इन्जिनियर दम्पतिको हत्या भएको थियो। १५ वर्ष अघि भएको उक्त हत्या काण्डका अभियुक्त दुई वर्षअघि पक्राउ परेका थिए।

हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जली श्रेष्ठलाई धारिलो खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी (३ घर भइ जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस(३ घर भई सामाखुसी बस्ने ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख छ।

सरकारी वकिलले उनीहरुविरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो। जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सर्वस्वसहितको जन्मकैद सुनाएको हो।

चौहान र गुरुङ अहिले केन्द्रीय कारागारको भद्रगोल जेलमा छन्।

मृतक अन्जनाका दाई ज्ञानेन्द्र प्रधानले १५ वर्ष पछि भएपनि हत्यारालाई सजाय भएपछि आफ्नो परिवारले न्याय पाएको महसुस गरेको बताए।

‘१५ वर्ष सम्म हामी न्यायका लागि लडिरहेका थियौँ अदालतले न्याय दिएको छ। हामीलाई राहत मसुस भएको छ,’ उनले सेतोपाटीसंग भने।

यसरी भएको थियो श्रेष्ठ दम्पतिको हत्या ः

प्रहरीका अनुसार, २०६९ साल असार ३१ गते बिहान ६ बजेतिर चौहान र गुरुङ श्रेष्ठ दम्पतिलाई नभई घरबेटी गीता खड्कालाई मार्न त्यहाँ पुगेका थिए। श्रेष्ठ दम्पति घरको तल्लो तलामा बस्थे।

खड्काकहाँ पुग्नुअघि उनीहरुको कोठा पार गर्नुपर्थ्यो । उनीहरुले अन्जनालाई नै घरबेटी बोलाइदिन भने। अन्जनाले घरबेटीलाई फोनमा खबरसमेत गरिन्। तर घरबेटी खड्काले आफूले भेट्न नचाहेको बताएपछि सोही जानकारी आगन्तुकलाई गराइ अन्जना चिया बनाउन भान्सा तिर लागिन्।

त्यहीबेला उनीहरुले सुरुमा हेमन्त र त्यसपछि अन्जनालाई खुकुरी प्रहार गरे। सो क्रममा छोरीलाई समेत खुकुरी प्रहार गरेका थिए। उनीहरुकी छोरी आज्ञाश्री भने बाँचेकी छन्।

श्रीमती श्रेष्ठले आफूहरुलाई चिनेको र आफ्नो पहिचान खुल्ने डरले चौहान र गुरुङले उनीहरुकै हत्या गरेका थिए। उनीहरु घटनाको एक साताअघि पनि डेरा खोज्ने बहानामा सो घरमा पुगेका थिए।

श्रेष्ठ दम्पतिको हत्यापछि उनीहरु खड्कालाई खोज्दै माथिल्लो तलामा पुगे। बाथरुममा लुकेकी खड्कालाई भेट्न सकेनन्। बरु खड्काले बाथरुमबाटै चिच्याएर छिमेकीहरुसँग गुहार मागेपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए।

प्रहरीका अनुसार भाग्ने क्रममा उनीहरुले करिब १०० मिटर पर पुगेर हत्यामा प्रयोग भएको खुकुरी फालेका थिए। सामाखुसी चोकको धारामा पुगेर आफ्नो शरीरमा लागेको रगत पखालेका थिए।

यो हत्याकाण्डका मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन्।

१२ वर्षसम्म अनुसन्धान

श्रेष्ठ दम्पतिको हत्याबारे अनुसन्धान गर्न प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढी समितिहरु बनाएको थियो।

हरेक नयाँ नेतृत्वले यो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने भनेपनि कुनै ‘क्लु’ समेत फेला पार्न सकेका थिएनन्।

पूर्व डिआइजी हेमन्त मल्ल नेतृत्वको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले यी दुई हत्यारालाई पक्राउ गरेको हो।

सुरुमा प्रहरीले घरबेटी खड्का नै हत्यामा संलग्न भएको आशंका प्रहरीले गरेको थियो। विभिन्न समितिहरुले खड्काका व्यवसायीक साझेदार समेतलाई अनुसन्धानको दायरामा राखेको थियो।

०७१ असोज ७ गतेदेखि केन्द्रीय अनुसन्धान विभागले यो घटनाबारे फेरि अनुसन्धान थालेको थियो।

विभागले अनुसन्धान गर्दा पहिलेका प्रतिवेदनहरू समेत अध्ययन गरेको थियो। पछिल्लो अनुसन्धानले घटनामा घरवेटी खड्काको संलग्नता नभएको बरु उल्टै उनलाई मार्न आएका चौहान र गुरुङ्गले श्रेष्ठ दम्पत्तीलाई मारेको जनाएको थियो।

ती प्रतिवेदनहरु हेरेर विभागले घरबेटी खड्काको म्यानपावर व्यवसाय, उनको व्यवसायिक साझेदारहरु बीचको खटपट र म्यानपावरबाट ठगीएका व्यक्तिहरुले घटना गराएको हुनसक्ने आशंका गरेको थियो।

घटनाको १२ वर्षपछि घटनाबारे जान्ने मान्छेहरु, प्रत्यक्षदर्शीले दिएका सूचनाका आधारमा चौहान र गुरुङसम्म पुगिएको उनले बताए।

चौहान र गुरुङको अपराधिक पृष्ठभूमी

रानीबारी हत्याकाण्डको नौ महिनापछि गोलढुंगामा म्यानपावर कम्पनी सञ्चालिका लीला गिरीको हत्या भएको थियो। लीलाका श्रीमानले नै चौहान र गुरुङलाई हत्याको जिम्मा दिएका थिए।

६ लाख लिएर यिनीहरुले श्रीमति गिरीको हत्या गरेका थिए। अदालतले उनीहरुलाई जन्मकैद सुनाएको थियो। तर, गुरुङ सुविधामा १३ महिनामै छुटेका थिए भने, चौहान २०६९ सालमा जेलमुक्त भएका थिए।

सिआइबीले,रानीबारी हत्याकाण्डको विश्लेषण गर्दा उक्त घटनाको प्रकृतिसमेत अध्ययन गरेको थियो। हत्या प्रकृति मेल खाएपछि सिआइबी उनीहरुसम्म पुगेको थियो ।