जनस्वास्थ्यमा अहेबको भूमिका

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु जिम्मेवार, मिलनसार र मिहिनेती हुनुपर्छ

                 पहलमान रोकाया

सामुदायिक स्वास्थ्य कार्यकर्ताको लागि पेसा र सेवा पर्यायवाची शब्द हुन् । मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले यो पेसालाई निकै संवेदनशील पेसाका रुपमा लिइन्छ । विगतमा अ. हे. व. पेसालाई दुखीको पेसाका रुपमा हेरिन्थ्यो, त्यसपछि बिस्तारै डाक्टर र एच. ए. लाई सहयोग गर्नेको रुपमा भनेर चिनिन थालियो । त्यतिबेलाको परिवेश नै त्यस्तै थियो । समयसँगै सामुदायिक स्वास्थ्य कार्यकर्ताको पेसाले पनि फड्को मार्दै आएको छ । अहिले नयाँ शिक्षा, सीप र व्यावहारिक ज्ञानले अ .हे. व. पेसालाई छुट्टै उचाइ र पहिचान दिएको छ ।

 

सामुदायिक स्वास्थ्य कार्यकर्ता पेसा अहिलेको चिकित्सा सेवाको एउटा अभिन्न अंग हो । आमनागरिकसँग अ.हे.व.हरुको सिधा सम्बन्ध हुने भएकाले स्वास्थ्य सेवामा अ.हे.व.को प्रत्यक्ष योगदान हुन्छ । अ.हे.वहरुले बिरामीको सेवासँगसँगै समाजमा आफ्नो स्वास्थ्यप्रति सचेत गराउने काम पनि गर्छन् । यसकारण नै नेपालमा अ.हे.व. पेसाले आफ्नै विशिष्ट स्थान बनाउन सफल भएको छ । नेपालमा अ.हे.व. जनशक्ति अस्पताल, समुदाय र जनस्वास्थ्य सरोकारका हरेक क्षेत्रमा फैलिएको छ ।

 

अ.हे.व.हरुले आफ्नो क्षमता, दक्षता, सीप, व्यावहारिक ज्ञान प्रयोग गरेर मानवीय पीडा कम गर्ने काम गरिरहेका छन् । समयसँगै हरेक कुराको परिवर्तन हुनु एउटा चक्र नै हो । समय आनुसार हरेक कुरा परिवर्तन भएजस्तै अ.हे.व. पेसामा पनि धेरै परिवर्तन आएका छन् ।

 

बिरामी अवस्था जीवनको एउटा कठिन समय हो । जसमा बिरामीको परिवार र बिरामीलाई निकै साथ र सहयोगको खाँचो हुन्छ । भनिन्छ नि बिरामी र बिरामीको परिवारसँग मिठो बोलिदिँदा पनि आधा रोग त्यसै निको हुन्छ । त्यसकारण अ.हे.व.हरुले आफ्नो बोली र वचनलाई वशमा राख्नुपर्छ । आफू र आफ्नो पेसाप्रतिको सम्मानको ख्याल गर्नुपर्छ ।

 

सामुदायिक स्वास्थ्य कार्यकर्ताको पेसामा आएको परिवर्तनसँगै व्यवहारमा पनि परिवर्तनको अपेक्षा नागरिकस्तरबाट हुनु सामान्य हो । सेवाका बाबजुद पनि अहिले अ.हे.व.हरुलाई बारम्बार लाग्ने आरोप भनेकै, ‘बोलीचाली राम्रो नहुने, समुदायमा झर्कीफर्की गर्ने भन्ने गरिन्छ । यो केही हदसम्म सत्य पनि छ । अ.हे.व.को बोली, व्यवहार बिरामीमैत्री हुनुपर्छ । सेवा गर्छु भनेर यो पेसा अँगागिसकेपछि यसका न्यूनमत मान्यताहरु कहिल्यै भुल्नु हुँदैन । त्यही न्यूनतम मान्यताभित्र पर्छ सामुदायिक स्वास्थ्य कार्यकर्ताको बोलीचाली र व्यवहार ।

 

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु जिम्मेवार, मिलनसार र मिहिनेती हुनुपर्छ भन्दै गर्दा अ.हे.व.हरुलाई निर्देश गर्ने नियम–कानुन कस्ता छन् । योग्यता अनुसार पारिश्रमिक छ कि छैन । कतै शोषण पो भइरहेको छ कि । अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड कस्ता छन् अनि कस्तो दुर्गम गाउँ गाउँमा भन्ने प्रश्नहरुमा पनि घोत्लिनुपर्छ । कति न्यून तलबमा ‘भोल्युन्टर’का नाममा अ.हे.व.हरुमाथि हुने आर्थिक शोषण अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ । यस्ता विकृति हटाउनतर्फ सरकार सचेत भइदिए हुन्थ्यो भन्ने सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको चाहना हो ।

 

बिरामीको अनुपातमा सामुदायिक स्वास्थ्य कार्यकर्तालाई नियुक्ति दिइनुपर्छ र थप अध्ययनको बाटो खोलिदिनुपर्छ। आस्पतालमा अ.हे.व.हरु अनिवार्य भए पनि उनीहरुको संख्या र गुणस्तरमा सरकारले त्यति ध्यान दिन सकेको छैन । सी.एम.ए. पढेर देशमै सेवा गर्छु भन्नेहरु भन्दा विदेश जान्छु भन्नेहरुको जमात ठूलो हुँदै गइरहेको छ । अ.हे.व.हरुले विदेशको विकल्प रोज्नु भनेको देशभित्र प्रचूर सम्भावना र अवसर नभेटेरै हो भन्दा फरक पर्दैन । योग्यता र क्षमताको कदर भए कोही पनि विदेशी भूमिमा गएर गुमनाम जिन्दगी बाँच्न चाहँदैन सायद ।

 

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुले गाउँ गाउँ दिनरात नभनी ड्युटीमा खटिनुपर्छ । यो पेसा अंगालेपछि व्यक्तिगत जीवनभन्दा पहिला ड्युटी आउँछ । तथापि, कतिपय अवस्थामा अपमानित र दुर्व्यवहारको सिकार हुनुपरेको छ अ. हे. वहरुले । अरुको सेवा गर्दागर्दै थला परेका अ.हे.वहरुका कथा प्रसस्त छन् । बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएका यी अ.हे.व.हरुको व्यथा अनि बिरामीको सेवा गर्दागर्दै हस्पिटलमा नै मृत्यू भएका खबर प्रकाशन भएका छन् । त्यस्ता घटनाले भतभती मन पोल्छ । आफ्नो दुःख व्यथा नभनी बिरामीको अगाडि मुसुक्क हाँस्दै सेवामा उभिनेसामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको सुरक्षाका लागि सरकारले बोल्नै पर्छ, हेर्नै पर्छ ।

 

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुले पनि आफ्ना हकहितका लागि एकजुट हुनुपर्ने बेला आइसकेको छ । सरकारले केही गरिदेला भनेर मुख ताक्दाताक्दै अ.हे.व.हरुले दशकौँ बिताइसकेका छन् । खासगरी, योग्यताअनुसारको स्थान, श्रम अनुसारको पारिश्रमिक, नियमित दक्षता अभिवृद्धि र सुरक्षित वातवरणका लागि अ.हे.व.हरुले एकजुट भएर आवाज उठाउनुपर्छ ।

(लेखक रोकाया सामुदायिक स्वास्थ्य कार्यकर्ता हुनुहुन्छ )