भारतका पहिलो नेपाली पूर्व मुख्यमन्त्रीको निधन

नेपाली भाषी बहुल भारतको पहाडी राज्य सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा निधन भएको उहाँको पारीवारिक स्रोतले जानकारी दिएको छ ।

 

भण्डारी विगत करीब तीन महिनादेखि नयाँ दिल्लीमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई मेरुदण्डको समस्या रहेको सिक्किमकी पत्रकार पवित्रा भण्डारीले जानकारी दिनुभयो । केही दिनअघि मात्र उहाँको मेरुदण्डको शल्यक्रिया भएको बताइएको छ ।

 

सन् १९७३ सालमा भएको सिक्किमको राजतन्त्र विरुद्धको आन्दोलनपछि सिक्किमलाई भारतमा गाभ्ने वा नगाभ्ने भनेर गरिएको जनमत संग्रहका बेला भण्डारी सिक्किम भारतमा गाभ्ने पक्षमा हुनुहुन्नथ्यो । जनमत संग्रहका बेला सर्वसाधारणलाई भारतमा गाभ्ने भन्ने तिर नलाग्न आग्रह गर्दा सिक्किममा तैनाथ भारतीय केन्द्रीय प्रहरी बल सिआरपिएफले मरणासन्न हुने गरी कुटेर बोरामा हालेर उहाँलाई नालीमा फ्याँकेको बताइएको छ । त्यतिबेलाको असर अहिले उहाँको मेरुदण्डमा देखिएको र सोही कारणले उहाँको निधन भएको पारीवारिक श्रोतले बताएको छ ।

 

सिक्किम भारतमा बिलय भएपछि प्रथम मुख्यमन्त्री काजी लेन्डुप दोर्जीपछि उहाँ सन् १९७९ मा दोस्रो मुख्यमन्त्री बन्नुभएको थियो । घोडा चुनाव चिन्हका साथ उहाँले सिक्किम जनता परिषद नामको पार्टी उहाँले स्थापना गर्नुभएको थियो । त्यसपछि सन् १९८४ मा उहाँले सोही पार्टीलाई नयाँ नामाकरण गरेर सिक्किम संग्राम परिषद बनाउनु भएको थियो । उहाँ सन् १९९४ सम्म १४ बर्ष सिक्किमको मुख्यमन्त्री बन्नुभयो ।

 

उहाँकै कार्यकालमा सन् १९९२ मा आठौं अनुसूचीमा गाभेर भारतको केन्द्र सरकारले नेपाली भाषालाई मान्यता दिएको थियो । भण्डारीकै नेतृत्वमा भारतभरका नेपाली भाषीको हस्ताक्षर संकलन गरेर नेपाली भाषालाई मान्यता दिइनुपर्छ भनेर केन्द्र सरकारलाई दबाब दिइएको थियो । त्यतिबेला उहाँकी धर्मपत्नी दिलकुमारी भण्डारी सिक्किमबाट लोकसभा सदस्य हुनुहुन्थ्यो । उहाँपछि पवनकुमार चाम्लिङ सिक्किमको मुख्यमन्त्री बन्नुभएको हो ।

 

त्यसपछि भण्डारी भारतीय राष्ट्रिय कंग्रेसको सिक्किम प्रदेशको अध्यक्ष बन्नुभएको थियो । चार बर्षअघि उहाँ पुनः सिक्किम संग्राम परिषदको अध्यक्ष बन्नुभएको थियो ।