कालीमाटीमा कविता गुञ्जन

कालीमाटी बसुन्जेल मैले पटकपकट दक्षिणतिर खानीभन्ज्याङपट्टि नजर दौडाएर उनको स्मृतिको प्रतिबिम्बलाई सुम्सुम्याइरहेँ ।

  

खगेन्द्र गिरि कोपिला’

‘जेठ १५ गते नमस्ते साहित्य परिषदले कार्यक्रम गर्दै छ, ओखलढुङ्गा आउनु प¥यो, निम्ता गरेँ कोपिलासर’—विष्णुदीप सङ्कल्पजीको आग्रहमिश्रित सूचनालाई मैले इन्कार गर्ने ठाउँ थिएन । एक त टाढाबाट आएको निम्तो, त्यसैमा नपुगेको ठाउँको साहित्यिक कार्यक्रम अनि सगरमाथाको काखैनिर पुग्न पाउने अवसरको कुतकुतीले म भित्रभित्रै पुलकित भएँ । कार्यक्रमको मिती धेरैपटक वरपर सारियो तर मेरो मन भने धेरै दिनसम्म एक्लै रमाइरह्यो, एकतमासले ।

 

फेसबुकले गराईदिएको हो उनको र मेरो परिचय । फेसबुकका पाँच हजार साथीहरुमध्ये दोहोरो कुराकानी र नियमित सम्पर्क हुने थोरै साथीमध्ये पर्छन् उनी । एकअर्काका साहित्यिक रहर, रुचि, गतिविधि र प्रेमबारे जानकार छौं हामी । यद्यपि फाट्टफुट्ट पत्रपत्रिकामा एकअर्काका रचना पढ्नु बाहेक हाम्रो सम्बन्धका जराहरु फेसबुकमैं सिमीत छन् । कति छिट्टै हाम्रो सम्बन्ध झाङ्ंिगयो थाहै भएन । सम्भवतः टाढाको माया छिटो प्रगाढ बन्दोरहेछ । संगै राखेका भाँडा बज्ने र संगै सुत्नेका खुट्टा ठोक्किने दृष्टान्तले हाम्रो सम्बन्धको आँगनमा प्रवेश पाएको छैन अझैंसम्म ।

 

ओखलढुंगाको दियाले निवासी इन्द्रकुमार श्रेष्ठ हुन् मेरा प्रथम ओखलढुंगे साथी । फोन र फेसबुक नहुँदा जब हामी टाढाको संवादको लागि चिठीपत्रमैं सिमीत थियौं, त्यो जमानादेखिका साथी हौं इन्द्र र म । अझैं पनि हामी फेसबुक र फोनभन्दा पनि चिठिपत्रकै माध्यमले मित्रताको घनत्वलाई नविकरण गरिरहन्छौं कहिलेकाहीं । यो पाली मैंले ओखलढुंगामैं पुगेर इन्द्रजीलाई सरप्राइज दिने विचार गरें । विष्णुदीपजीसितको सम्बन्ध छिट्टै झांगिनुमा इन्द्रजीसितको मित्रताको प्रगाढताले पनि केही न केही पौष्टिकताको काम गरेकै हुनपर्छ, मेरो मनले भन्छ ।

 

२०७४ साल बैसाखको महिना, स्थानिय निकायको चुनाबी चर्चाले रङ्गिएको छ सारा नेपाल । चुनाबमा खटिने पिरलो, अफिसबाट बिदा नपाउने डर र चुनाब बिथोल्न खोज्ने दलहरुले नेपाल बन्द गर्ने हल्ला आदिआदि आशंकालाई चिरेर एकदिन म उडें काठमाडौंतर्फ । काठमाडौंको यात्रा जहिले पनि कामका प्याकेजहरुको बोझले थिचिन्छ । यो काम, त्यो काम, यहाँ भेट्ने, त्यहाँ भेट्ने । मेरा पनि दुई दिन दौडधूपमा बिते । एकदिन डम्मर बीसीभाइको सत्प्रयासले चन्द्रगिरि पुगेर भालेश्वर महादेवको दर्शन गर्ने साइत जु¥यो भने अर्को दिन मन्दिरा मधुश्री र सरु सुवेदीको सत्प्रयासले उषा शेरचनज्यूलाई उहाँकै घरसम्म पुगेर भेट्ने अवसर पनि पाइयो ।

 

 

 

 

 

 

ओखलढुङ्गाको साहित्यिक कार्यकम्रमा शरिक हुन जाने निम्तालुहरुसित फोनमा सम्पर्क गरियो । संगै जाने सल्लाह पनि गरियो तर बैसाख १४ गते बिहान कोटेश्वरमा भेला भयांै केवल चार जना— डा. घनश्याम परिश्रमी, लीलाराज दाहाल, कविराज पौडेल र म । बिहानीपखका चम्किला सूर्य सुनौलो उज्यालो बोकेर डाँडामाथि उम्लिदै थिए, हामी चार जनाको टोली सुमो जीपमा अरनिको राजमार्गमाथि हुइकिँदै पूर्व लाग्यो । कोटेश्वरदेखि सूर्यविनायकसम्मको बारह किलोमिटर लामो सडक खण्ड संभवतः नेपालकै सबैभन्दा राम्रो, भव्य र रहरलाग्दो सडक होला । प्रायः जसो हामी नेपालीहरु कतै यात्रामा गैरँहदा सडकको बेहालको चर्चा गर्दै सरकारलाई गाली गरिरहेका हुन्छौं तर आज यो सडकको भव्यताको प्रसंशा नगरी रहन सकिएन । सूर्यविनायक चोक पुगेपछि छलेनको सडक दुईलेनमा साँगुरियो । जगातीभन्दा अगाडी सडक साँगुरिदै उकालो लाग्न थाल्यो । साँगाको पश्चिम फर्केको पाखोमा उभ्याइएका विशाल महादेवको मुर्तीसित हाम्रा आँखा जुधे । साँगा भन्ज्याङ काटेपछि काभ्रेमा प्रवेश गरियो । बनेपाबाट हामी अरनिको राजमार्गलाई छोडेर दाहिनेतर्फ मोडियौं । यो बनेपा—बर्दिबास सडक हो । जापानले बनाइदिएको यो सडक अलि साँगुरो छ । पहाड नखोतलेर खोला किनारमा पहाडको फेदैफेद ढुंगाको जगमाथि बनाइएको यो सडक कतै किल्लाजस्तो देखिन्छ भने कतै नहरजस्तो देखिन्छ । भूसंरक्षणको लागि बनाइएका सिमेन्टेड पर्खाल, पानी निकासको लागि ढल र चिल्लो पीचलाई हेर्दा यो सडक सबैभन्दा उन्नत प्रबिधिले बनाइएको बुझिन्छ । धुलीखेल हुँदै भकुण्डेबेंसी नपुग्दासम्म ससाना होचाहोचा पहाड, बनजंगलको संरक्षणले फैलिएको हरियाली, मिलेका फाँट र टारहरुको बीचबीच हुँदै कुद्छ सडक । यतातिर तरकारी खेतीको राम्रो विकास भएको छ । ग्रामिण रम्यता र आधुनिक भौतिक विकासको संयोजनका सुन्दर झाँकी देख्न पायौं यो सडकमा हिड्दा । हामी काभ्रेको सौन्दर्यलाई आँखामा टिप्न थाल्यौं ।

 

खुर्कोट पुगेपछि जापानी सडक दक्षिणतर्फ सिन्धुलीतिर मोडियो । हामी सिधै पुर्व लाग्यौं । ओखलढुंगा जाने यो सडक पीच नै भएपनि अघिको भन्दा निकै फरक छ । सडकमा खाल्डाखुल्डी छन् । पहाडी ढलान र पीच भत्केर प्रायःजसो सडक क्षतिग्रस्त देखिन्छ । पहिरोले ल्याएका ढुंगामाटोका थुप्राले ठाउँठाउँमा सडकको रुप बिगारेको छ । हाम्रा सवारी चालक शंकर तामाङ भने दोहोरी गीत सुन्दै उही गति र उही सुरमा जीप हाँकीरहेका छन् । सुनकोशीमा धमिलो पानी बगिरहेको छ । नदी किनाराका चम्किला ढुंगा ऋतु परिवर्तनको मादकताले लट्ठिए झैं सुनकोशीको पानीले रङ्ग फेर्ने प्रतिक्षामा छन् । पारि पाखाभरि उभिएका रुखका पात रुखलाई नांगै बनाएर झरेका छन् । सडककै समानान्तर भएर बग्दै गरेकी सुनकोशीले सुसेलेका प्रेमिल धुन पहरामा गुन्जिन्छन् र फर्केर हाम्रा कानमा ठोक्किन पुग्छन, उघनँ लागेका हामी झसङ्ग भएर ब्युझिन्छौं र फेरि वरवपरको सौन्दर्यमैं हराउन थाल्छौं । पारि रामेछाप वारि सिन्धुली जिल्ला बीचमा सुनकोशीको साँध । रामेछापतिर पहरा निकै देखिए । यता सिन्धुली तिरका पहाड अली थुम्केला छन् । फाँट र टार पनि यतै ज्यादा देखिए । प्रकृति पनि रामेछापभन्दा सिन्धुलीपट्टि ढल्किएकी हुन् कि ? डा. घनश्याम परिश्रमीले कुतुहलता पोख्नु भो । मान्छेले पनि सिन्धुलीपट्टि नै सडक बनाएर पक्षपात नै गरेको देखियो कविराजले थपे । तैपनि रामेछापपट्टिका पहरा आफ्नो प्राकृतिक यौवन जोगाइराख्न सकेकोमा यता सिन्धुलीपट्टिका क्षतविक्षत थुम्का र फाँटहरुभन्दा अलि बढी खुसी देखिए लीलाराज दाहालले निष्कर्ष निकाले ।
घुर्मी पुगेपछि सडकको यौटा हाँगो दक्षिण कटारीतर्र्फ लाग्यो । घुर्मी भनेको घुचमुच्च ससाना टहराहरुको बाक्लो बस्ती रहेछ । अव्यस्थित र फोहोरी घुर्मीमा मनले रमाउन मानेन । हामी सुनकोशीको पुल तरेर हर्कपुर हुँदै उकालो चढ्दै उत्तर लाग्यौं । हिलेपानी र थाक्लेको घुमाउरो सडक काटेपछि मानेभन्ज्याङ् आयो । यहाँ डाँडाभरी पोखिएको हरियाली चित्ताकर्षक छ । हावा खाने बहानामा एकछिन ओर्लियौं । सिरसिर बतासले हाम्रा पसिना सुके । चिसो बतासको स्पर्शले टाउको दुखेको पनि सन्चो भयो । केतुके र लगलगे जस्ता ठाउँ हुँदै अगाडि बढ्दै जाँदा हरिया पाखा, परपर देखिने सेता घर, मिलेका खेतगराको रंगीबिरंगी दृश्यले ओखलढुंगा आएको जनाउ दियो । हाम्रो मन रमाउन थाल्यो ।

एउटा अग्लो पहाडलाई अँगालो हालेर त्यही पहाडको वरिपरी लमतन्न फैलिएको छ ओखलढुंगा । प्राकृतिक सुन्दरताले झकमक्क भएको ओखलढुंगा साँझपख माइतबाट घर फर्किएकी दुलही जस्ती लाग्यो । अलिकति मुस्कुराएकी, अलिकति लजाएकी, केही चञ्चल, केही अस्तव्यस्त । अव्यवस्थित ढल र यत्रतत्र फालिएका प्लास्टिकले बजारभरी फोहोरैफोहोर छ तर परपर हेर्दा ओखलढुंगालाई चारैतिरबाट प्रकृतिले पहरा दिईरहेजस्तो लाग्यो । सूर्यका लालरश्मीहरु पश्चिमपट्टिको पहाडले छेकिने तरखरमा छन् । हामीलाई ओखलढुंगाको सदरमुकामबाट एघार किलोमिटर अगाडि पुग्नु छ । ओखलढुंगाको रमाइलो डाँडा भन्ने ठाउँमा काठमाडौंबाट आएको जीप छोडेर हामी एउटा थोत्रो पिकअप भ्यानमा चढ्यौं । हाम्रो टोलीमा थपिए कलानिधि दाहालदम्पति । आधा घण्टा जति पहाड खोस्रेर बनाइएको कच्चि र साँगुरो धुले बाटो कुधेपछि हामी रुम्जाटार पुग्यौं । वरिपरि पहाडले घेरिएको रुम्जाटार चाक्लो कटौरा जस्तो रहेछ । रुम्जाटारमा चारैतिर रातो माटोको साम्राज्य छ । टारको बीचैमा हवाई मैदान देखियो । ठूलाठूला सेताघरहरुले भरिएको रुम्जाटार सम्पन्न नै रहेछ । घुम्दैफिर्दै रुम्जाटार भन्ने पुरानो चर्चाको सम्झना भयो । ढुंगा ओछ्याइएको घुमाउरो सडकको फन्को मारेर सडक ठोट्ने खोलामा ओर्लियो । माम्खा देउरालीको लामो कुइनेटो काटेपछि खार्पे खोला त¥यौं । अलिकति उकालो र केही तेरपायाँ बाटो कुदेर रातमाटेहुँदै कालीमाटी पुग्दा त झमक्कै रात प¥यो ।

 

कालीमाटी हाम्रो अन्तिम गन्तव्य, चोकैमा स्वागतको लागि उभिएका विष्णुदीप संकल्पको हँसिलो मुस्कानले अँध्यारोमा उज्यालो चम्किएको महसुस भयो । थुप्रै अरु अनुहारहरु पनि त्यस्तै मुस्कान बोकेर स्वागतार्थ उभिएका छन् । हामीले सबैको भेउ पाउन सकेनौं । रात छिप्पिदै जाँदा झापा, बिराटनगर, सिक्किम र काठमाडौंबाट आएका स्रष्टाहरु थपिंदै गए । परिचय पनि थपिदै गयो । स्रष्टाहरुको परिचयमा पुरानो परिचय पनि कतै न कतै जोडिएकै हुन्छ । नचिनेर पनि चिने जस्ता, नदेखे पनि देखेजस्ता । कोही पुस्तक आदानप्रदान गर्न थाले, कोही ठेगाना र मोबाइल नम्बर टिप्न थाले । साँझपख, थाकेको शरिर आराम खोज्दै छ । यस्तो बेलामा भएको परिचय टेलीफिल्मको बीचमा विज्ञापन हेरेजस्तो झल्याक्झुलुक भैरह्यो । हुलुमुलमा हामी खाना र ओछ्यान खोज्नमैं केन्द्रित भयौं । बिष्णुजीकी म्याडम राधा, छोरी नवीना र केही हँसिला छिमेकी महिलाहरुले बिहेको भतेर लगाएजस्तै गरी हाँसीहाँसी सबैलाई खाना खुवाए । तीन दर्जन जति पाहुनाहरुको आजको बास विष्णुदीप संकल्प र उनका छिमेकीका घरमा भयो ।

 

 

भोलिपल्ट बिहान चराचुरुङ्गीको चिरबीर आवाजले मेरा आँखा छिट्टै खुले । झिसमिसेमैं नित्य कर्म सकियो । बिस्तारै मान्छेहरुको खलबल बढ्दै गयो । शान्त र स्वच्छ बिहानी बातावरणमा बिस्तारै स्वर्णिम रंग भरिदै गयो । विष्णुजीको घर अघिल्तिर हिजै आएको धुले बाटो लमतन्न सुतेको छ । ओखलढुंगाबाट आएको यो एकधर्के सडक कालीमाटीको पुछारैपुछार सिधै पूर्व सेर्नातिर लाग्यो । पहाडको फेदफेदलाई खोसे्रर बनाइएको गोरेटोजस्तो यस सडकमा ठूला सवारी साधन चल्न सक्दैनन् । साना जीप र भ्यानहरु मात्रै चल्न लायक छ । तैपनि बाटो खोर्सेर बनाइएको यस ग्रामिण सडकले यहाँको जनवीवनलाई भौतिक परिवर्तनतर्फ उन्मुख गरेका असरहरु देख्न पाइए ।

 

कालीमाटीसितै परपरका रातमाटे र चिशंखुगडीका पाखाभरी घामका किरण फैलिन थाले । म र लीलालाज दाहाल एकछिन टहलिन लाग्यौं । हिड्दाहिड्दै रामकुमार खड्का नाम गरेका एकजना पूर्वप्रहरीसित परिचय भयो । उनैले घुमाईदिए हामीलाई कालीमाटी गाउँको शिरदेखि पुछारसम्म । उनी माओबादीको द्वण्द्वकालमा युद्ध लड्नु पर्ने डरले प्रहरीको जागिर छाडी भागेर आएका रहेछन् । कालीमाटी बस्दा दिनभरी हामीले उनलाई भगौडा प्रहरीदाइ भनेर जिस्क्याइरह्यौं, उनी हाँसी रहे । एकछिन माथि चौतारोमा उक्लियौं । वरपरका डाँडाँकाँडाहरु प्रभाति रंगमा नुहाएर भरखर जिऊ सुकाउन उभिएझैं निश्छल र प्राञ्जल लागे । सौन्दर्यले शोभायमान चौतारोमा उभिदा सिरसिर बतासले हाम्रो मनले पनि नुहाएको जस्तै अनुभूति ग¥यो । ‘उडुँ कि गुडुँ म’ भन्ने गीतलाई सम्झिएँ । पहाडी सुन्दरता बोकेर उभिएका यिनै डाँडापाखामैं त छ नेपाली जनजीवनको बास्तबिक सुवास । अलि पर उत्तरपट्टि भँडारे भन्ने पहाडको पहिरोले एउटा सिंगै पाखोलाई नै बगाएर लगेको कुरुप दृश्यले आङ जिरिङ्ग बनायो । त्यो पहिरो बग्दै तल खार्पे खोलामा मिसिदों रहेछ । खार्पेलाई यहाँ बौलाहा खोला भन्दा रहेछन् ।

 

बिहानको घुमघाम सकेर फेरि विष्णुदीप सङ्कल्पकै घरमा भतेर लाग्यो । हिजो साँझको भन्दा डबल छन् खाने मान्छे तर राधा मेडमको अनुहारमा कुनै थकान छैन । कसैलाई पनि अपुग्दो नगरीकन उहाँले आत्मियता बाँडीरहनु भयो । साहित्यिक कार्यक्रममा सहभागि हुन दुईदुई तीनतीन घण्टा हिडेर आएकाहरुका मुहारमा हामीले अनौठो उत्सुकता पढ्यौं । मलाई सिक्किमप्रति निकै जिज्ञासा थियो । सिक्किमबाट सात जना स्रष्टा आएका छन् । टोली नेता सिक्किम साहित्य परिषदका अध्यक्ष रुद्र पौडेल उमेरले मात्र होइन बोली बचनले पनि पाका । चक्रपाणि भट्टराई थोरै बोल्ने, धेरै सुन्ने, तौलिएर बोल्ने । अग्ला गोरा एनपिएस निरौला अरुभन्दा निकै हँसिला । उमेरले चौसट्टि पुगेका भएपनि हेर्दा चालिस पनि नकटेकाजस्ता । खुसेन तिम्सिना धेरै नबोल्ने, हाँसिरहने अरुका कुरा सुनिरहने । पुष्पराज अधिकारी र डा. राजु गिरि भने अरुभन्दा केही बोलक्कड । म पनि सिक्किमे स्रष्टासित मिसिएँ र सोध्न थालेँ सिक्किमका विषयमा धेरै कुरा । तर सिक्किमे मित्रहरु कताकता डराएजस्ता, राम्ररी खुल्न नसकेजस्ता लागे । टोली नेता रुद्र पौडेलजीले त भनीहाल्नु भो— तपाइँले सोधेजति भन्न हामीलाई गाहारो हुन्छ । के थाह ! हामी सिक्किम पुग्नुभन्दा पहिल्यै विवाद त्यहाँ पुगिसकेको पो हुन्छ कि? मलाई सिक्किममा नेपाली संस्कृति र साहित्यको अवस्था जान्ने रहर थियो । नेपालीनेपालीका बीचको जातिय विभाजनका कारण र निवारणका संभावना बारे छलफल गर्न चाहन्थेँ । विकास पुरुष भनेर चर्चामा आएका सिक्किमका पवन चामलिङको लोकप्रियता साँच्चै हो कि शक्तिको विज्ञापन हो? भन्ने वारेमा साहित्यकारहरुको विचार सुन्न चाहान्थे । हिजोको स्वतन्त्र देश सिक्किमका नागरिकहरु आज भारतमा मिसिदाको अवस्थामा केकस्तो मनस्थितिबाट गुज्रिरहेका छन् ? मेरो मनमा सबैभन्दा ठूलो उत्सुकता त यही थियो तर रुद्र पौडेलको लाचार अभिव्यक्तिले मेरा थुप्रै जिज्ञासाहरु मनमैं गुम्सिन पुगे । के पेशा गर्नु हुन्छ? छोराछोरी कति छन्? सिक्किमको कुन ठाउँमा घर पर्छ? कति दिन लाग्यो यहाँ आइपुग्न? यस्तैयस्तै सामान्य कुराकानी भए । बास्तबमा शब्द कहिलेकाहीं यति टुहुरो बनी दिन्छ कि उसले मनको सारा भावनालाई व्यक्त गर्नै सक्दैन ।

 

खाना खाएर हामी जालपादेवी उ.मा.वि.को प्राङ्गणमा उक्लियौं । नमस्ते साहित्य परिषद, ओखलढुङ्गाको तेश्रो वार्षिकोत्सवको सन्दर्भमा हुने बृहद साहित्यिक कार्यक्रमले कालीमाटीको पाखोमा नयाँ चहलपहल थपेको छ । हामी कवि, लेखक, सहभागिहरुको हुलमा मिसियौं । कार्यक्रम समयमैं शुरु नहुने रोगले ओखलढुङ्गा पनि अछुतो रहेनछ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भो कार्यक्रम । विराटनगरका युवा कवि रमेशचन्द्र अधिकारीले माइक सम्हाले । प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले आफ्नो गजल गाएर कार्यक्रमको शुभारम्भ गरे ः

 

हिड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब

हामी लक्ष्य भेट्न हिड्यौं वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

 

शोभा कटवालले स्वागत भाषण गरिन् । जलपादेवी उ.मा.वि.का विद्यार्थीहरुले स्वागत गान र नृत्य गरे । कार्यक्रम ढिलो शुरु भए पनि बिस्तारै रौनक थपिदै गयो । रचनाहरु जम्न थाले । टाढाटाढाबाट आएका थुप्रै स्रष्टाहरुलाई विभिन्न खाले विशेषण जोडेर सम्मानपत्र बाँडिएपछि झापाकी खगीन्द्रा खुसी र मोरङ्का रोहित पराईले छन्द र गायनको राग छेडे । मुना खतिवडाको गजल गायनले मन्त्रमुग्ध पा¥यो । कलानिधि दाहालले भाषण, हास्यव्यङ्ग र रचनाको मिश्रण सुनाएर हसाए । लक्ष्मी कटवाल, नविना रेग्मीजस्ता स्थानिय स्रष्टाले रौनक थपे । कविराज पौडेलको छन्द कविताले सर्वाधिक ताली पायोः

 

यी पाखा पहरा डुलेर पिरती लाई अघाउन्न म
मेरा गीत नदी पहाड वनका गाई अघाउन्न म
यी अग्ला चुचुरा चढेर पिरती लाएर साँची रहूँ
सौन्दर्यामृत यै पिई प्रकृतिको गाएर बाँची रहूँ

 

स्थानिय केही राजनितिकर्मी— समाजसेवीहरुले भाषण गर्ने रहर पनि मेटे तर प्रायःजसोले लामो समय बरबाद गरेनन् । सिक्किमबाट आएका सात जना स्रष्टाले रचना सुनाएनन् । भाषणमात्रै गरे र कार्यक्रमको बीचमैं बिदा लिएर फर्किए पनि । देवी पन्थीले कार्यक्रमको बीचमैं विष्णुदीप सङ्कल्पकी पत्नी राधा रेग्मीलाई मञ्चमा बोलाएर पर्दा पछाडिबाट कार्यक्रम सफल पार्न पु¥याएको योगदानको कदर गर्न प्रमुख अतिथिलाई अनुरोध गरेपछि सबै भावविह्वल बने । डा. घनश्याम परिश्रमीले उनलाई फूलमाला लगाएर सम्मान गरेको क्षण कार्यक्रमको सबैभन्दा भावुक पक्ष बन्यो । कार्यक्रम सकिने सकिने बेलामा आइपुगेका सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरेले आफ्ना मुक्तकद्वारा सबैलाई जुरुक्क उचाले । अपरान्हतिर कालीमाटीको पाखोमा खुबै हावा चल्दोरहेछ । कार्यक्रम स्थलमा सजाइएको फूलबुट्टे कपडाको शामियनालाई बतासको बेगले भताभुङ्ग पारिसक्दा पनि श्रोताहरुका जिज्ञासु आँखामा कुतुहलता मेटिएको थिएन । क्रान्ति, परिवर्तन, देशप्रेम र मानवियताले ओतप्रोत कविताको गुञ्जन कालीमाटीको पाखोमा दिन भरी गुञ्जिरह्यो । घडीमा चार बजिसकेको थियो । टाढा—टाढा फर्किनु पर्नेहरुको असहजतालाई मनन गरेर उद्घोषकले अल्छी गरी गरी कार्यक्रमको बीट मारे । हामीहरु हिजो राती ओर्लिएको त्यही कालीमाटी चोकबाट ओखलढुङ्गाका लागि हिड्यौं । विष्णुदीप सङ्कल्प र राधा म्याडमले हाम्रा हातमा मालु केरा राखेर बिदाई गर्दा कलानिधि दाहालले ठट्टा गरेर हँसाउन खोजे तर धेरैजसोका मुख म्लान भए, आँखाका डिल रसाएझैं भए ।

 

मैले घरनिरै पुगेर सरप्राइज दिउँला भनेका मेरा पुराना साथी इन्द्रकुमार श्रेष्ठ कतै देखिएनन् । उनी काठमाडौं गएका रहेछन् । कालीमाटी बसुन्जेल मैले पटकपकट दक्षिणतिर खानीभन्ज्याङपट्टि नजर दौडाएर उनको स्मृतिको प्रतिबिम्बलाई सुम्सुम्याइरहेँ । कालीमाटी पाखेगाउँको कुइनेटो पार गरेपछि उनको गाउँलाई अग्लो डाँडोले छेक्यो । दृश्य ओझेल परे पनि उनको सम्झनाले मलाई लखेटिरह्यो । यहाँ आउँदा मेरो कुतुहलतामा केवल इन्द्रकुमार श्रेष्ठमात्रै थिए । फर्किदा भने मनको अभिलेखमा ओखलढुंगाका थुप्रै कुराहरु सजिएका छन् । मेरो मन तिनै स्मृतिचित्रसित रमाउँदै कुदिरह्यो, कुदिरह्योे ।