कविता/ पिरती

पहल असीम, अछाम

जिन्दगिमा पहिलो पटक
अकस्मात् मेरो मनको ढोकामा
पिरतीले प्रवेश गर्दा
तिमी पनि सँगै प्रवेश गरेकी थियौ ।

 

मलाई थाहा थिएन
के हो पिरति
मलाई पिरतिको बारेमा सिकाउने
कुनै दार्शनिक नामुद
पिरतिबाज पनि थिएन मसँग

 

थियौ त केवल तिमी थियौ

 

हाईस्कुलको पढाईको
पहिलो खुट्किलामै
म फसेको थिएँ पिरतिमा
थाहा छैन त्यो पिरति हो या नाटक

 

हामीले पिरतिका नाममा
प्रवेशिका परिक्षा हुनु पूर्वको
भ्यालेन्टाइन सप्ताहमा
एक अर्कालाई बाढेका थियौ
गुलाब, चक्लेट के के हो के के ?

 

हामी प्रवेशिका परिक्षा सकिएको
भोलीपल्टै छुट्टिएका थियौ
एक अर्काको अटुट माया सँगालेर
एकअर्कालाई नबिर्सने गरि

 

बलवान समय उछिट्टिएर
हिडिरह्यो एककदम अगाडी
म हिड्न सकिन बलवान समयसँगै
तिमी हिड्न सक्यौ या सकेनौ थाहा छैन

 

आज यतिका बर्षपछि
फेरि फर्केर आएको छ भ्यालेन्टाईन
थाहा छैन तिमी कहा छौ
तर म भने हातमा गुलाब समाएर
पिरती पर्खेको दोबाटोमा
तिमीलाई पर्खेर बसिरहेको छु
र पनि अझै थाहा छैन
मेरो हातको गुलाब ओइलिन्छकि
या त म नै ओइलिन्छु ।